विद्युतीय बसका लागि १० करोड लगानी

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले विद्युतीय बसका लागि १० करोड लगानी गरेको छ । ०७४ माघमा प्रदेश सरकार गठनलगत्तै ल्याइएको नीति तथा कार्यक्रममा बागमती सरकारले विद्युतीय बस सञ्चालन योजना अघि बढाएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले अघि सारेको योजनाअनुसार प्रदेशभित्र विद्युतीय बस सञ्चालनका लागि हालसम्म १० करोड लगानी गरिएको हो । सरकारले कानुन नै निर्माण गरेर बस सञ्चालन र चार्जिङ स्टेसन निर्माण व्यवस्थापनका लागि यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन गरेर प्रक्रिया अघि बढाएको हो ।

३० वटा बस खरिदका लागि प्रदेश सरकारले १० करोड लगानी गरिसकेको र आगामी फागुन मसान्तभित्रै बस काठमाडौं आइपुग्ने बोर्डका कार्यकारी निर्देशक जगदीश ढुंगानाले बताए । उनका अनुसार बोर्डले खरिद गर्न लागेको ३० वटा विद्युतीय बसमध्ये १० वटा लामो रुढ र २० वटा स्थानीय सहरहरूमा सञ्चालन गरिनेछ । 

प्रदेश राजधानी हेटौँडा हुँदै नारायणगढ–मुग्लिङ–काठमाडौं र सिन्धुलीतर्फ दैनिक लामो रुढ सञ्चालन गरिने बोर्डको योजना छ । बस २४ सिट क्षमताको हुने र आकस्मिक उपचार सेवा पनि व्यवस्थापन गरिएको बोर्डका निर्देशक ढुंगानाले जानकारी दिए ।

यसैगरी २० वटा विद्युतीय बसलाई हेटौँडा–भरतपुर, मुग्लिङ–भरतपुर, सिन्धुली र काठमाडौं उपत्यकाभित्रै केन्द्रित गरी यातायात सेवा सञ्चालनमा ल्याउने बोर्डको तयारी रहेको जनाइएको छ ।

हेटौँडामा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढ्यो 
हेटौँडामा विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले हेटौँडा– ११ स्थित थानाभर्याङमा चार्जिङ स्टेसन निर्माणका लागि एक करोड रकम विनियोजन गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक जगदिश ढुंगानाले प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालनमा ल्याउने क्रममा बोलपत्र आह्वान भएअनुसार सोही अन्तर्राष्ट्रिय बोलपत्रमाथि २० दिनभित्र हेटौँडामा बोलपत्रमा कबुल गरेअनुसारको बस खरिद गर्न प्राविधिकसहितको निष्कर्षमा पुगिने बताए । 
 

सुझावित समाचार