नाकामा परीक्षण नहुँदा गाउँगाउँ पुग्यो संक्रमण

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

भारतमै रहँदा कोरोना भएको थाहा भएपछि दुल्लु नगरपालिका– २ नाउले–कटुवालका एक युवा घरपरिवार भेटेर मर्छु भन्दै हतारहतार गाउँ फर्किए । यहाँ आइपुगेपछि उनको स्वास्थ्य निकै बिग्रियो । आफन्तले उपचारका लागि दुल्लु अस्पताल पुर्याए । तर, उनलाई बचाउन सकेनन् । 

भैरवी गाउँपालिकाका अर्का युवा पनि कोरोना संक्रमित भएका छन् । उनी दैलेखको आइसोलेसनमा उपचार गराइरहेका छन् । चैत अन्तिम साता भारतबाट घर आएका उनलाई संक्रमण भइसकेको थियो । नेपालगन्ज हुँदै सुर्खेत दैलेख र जन्मघर पुगेपछि उनको स्वास्थ्य बिग्रियो । अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । दैलेखको नारायण नगरपालिका– १० का एक युवा कोरोना जोखिमसँगै भारतबाट आए । उनकी श्रीमती र सातमहिने बालकलाई कोरोना संक्रमण सरेको छ । उनीहरू सबै स्वास्थ्य लाभ गरिरहेका छन् ।

कोरोना संक्रमण दैलेखका गाउँगाउँ पुगिसकेका यी उदाहरण मात्र हुन् । नाकामै परीक्षण नहुँदा र गाउँ पुगेर पनि क्वारेन्टिन र आइसोलेसनमा राख्ने व्यवस्था नहुँदा अहिले गाउँगाउँ कोरोनाको ‘हटस्पट’ बनेका छन् । दैलेखमा करिब ४० प्रतिशतभन्दा बढी युवा, वृद्ध र महिलाको मुख्य रोजगारी भारत हो । धमाधम गाउँ भित्रिएका युवालाई सुरक्षा व्यवस्थापन कहीँकतैबाट हुन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार भारतबाट फर्केका ९० प्रतिशतमा संक्रमणको सम्भावना छ । तीमध्ये सिकिस्त बिरामी भएपछि मात्र चेकजाँच हुने गरेको छ । त्यसैले समुदायस्तरमै संक्रमण फैलिएको स्वास्थ्य सेवा कार्यालयले निष्कर्ष निकालेको छ । उसले जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय र प्रहरीलाई सुरक्षा अपनाउन अपिल गरेको छ । स्थानीय पालिकालाई समेत सतर्कता अपनाउन निर्देशन दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । 

एउटै वडाका ७० फर्किए, तर कसैको जाँच भएन
दैलेख नारायण नगरपालिका– ३ मा अधिकांश दलित समुदायको बसोवास छ । ३ र ६ नम्बर वडाका अधिकांश रोजगारीका लागि भारत जान्छन् । भारतमै कोरोनाको महामारी देखिएपछि उनीहरू धमाधम घर फर्किए । नारायण नगरपालिका– ३ का कालिमाटी, झल्सेतिदु र सांखोलाका ७० जना गाउँ फर्किएका छन् । तर, उनीहरूको कोरोना जाँच भएको छैन । 

वडासचिव विष्णु उपाध्यायले सबैलाई सुरक्षित रहन भनिएकाले भन्दै त्यसबाहेक अरू केही गर्न सकिने अवस्था नरहेको बताए । ‘वडासदस्यमार्फत सबैलाई घरमै बस्न भनेका छौँ,’ वडासचिव उपाध्यायले भने, ‘अहिलेको अवस्थामा योबाहेक केही गर्न सक्ने अवस्था छैन ।’ भारतबाट फर्किने क्रममा नाकामै धेरैको परीक्षण हुने उनीहरूले ठानेका थिए । तर, नाकामा परीक्षण भएन । ‘नाकामै परीक्षण होला भन्ने लागेको थियो, तर भएन । त्यसपछि हामी सुरु–सुरु आ–आफ्ना गाउँ आयौँ,’ भारतबाट केही दिनअघि फर्किएका एक युवाले भने, ‘सकेसम्म कोरोना नफैलियोस् भन्नेमा सतर्क छौँ ।’

स्थानीय भने भारतबाट फर्किएका खुला हिँडडुल गरिरहेकाले जोखिम बढेको बताउँछन् । तर, गाउँ फर्किएकाका पनि आफ्नै तर्क छन् । ‘नाकानाकामा धेरै दुःख पायौँ, मर्नुपर्ने भए घरका आफन्तसँग भेटघाट गरेर मरौँला भनेर भारतबाट घरतर्फ आएका हौँ,’ ती युवा भन्छन्, ‘राज्यले उचित व्यवस्थापन नगर्दा यो अवस्था आएको हो । हाम्रै कारणले आफन्त जोखिममा परेका छन् ।’

पाँच कोभिड अस्पताल २५ अक्सिजन सिलिन्डर स्टक
स्वास्थ्य सेवा कार्यालय दैलेखअन्तर्गत ५० शय्याको कोभिड अस्पताल निर्माण भएको छ । अहिले त्यहाँ दुईजना संक्रमितले उपचार गराएका छन् । त्यहाँ आपत्कालीन रूपमा २५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । तर, कार्यालयमा रहेका दुईमध्ये एउटा एम्बुलेन्स बिग्रेको छ । संक्रमित भए–नभएको तत्काल पत्ता लगाउने एन्टिजेन किट सबै पालिका र मातहतका स्वास्थ्य संस्थामा पठाइएको कार्यालयले जनाएको छ । अहिले सयदेखि एक सय ५० किट पठाइएको र मन्त्रालयको निर्देशनअनुसार लक्षण देखिएका बिरामीलाई चेक गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ । 

See More On

सुझावित समाचार