समस्या राख्न गएका सुकुम्बासीलाई मेयरले उल्टै हप्काए

बुधबार, ८ बैशाख, २०७८
डिजिटल संस्करण
समस्या राख्न गएका सुकुम्बासीलाई मेयरले उल्टै हप्काए

दमक नगरपालिका परिसरमा आन्दोलनमा उत्रिएका सुकुम्बासी । तस्बिर : नयाँ पत्रिका

आफ्ना समस्या नसुनी बीचमै मेयर उठेर हिँडेपछि आन्दोलनमा उत्रिए सुकुम्बासी

१२ दिनअघि दमक नगरपालिकाले डोजर चलाएको दमक–७ पञ्चमुखी टोलका सुकुम्बासी मंगलबार आफ्नो समस्या लिएर नगरप्रमुख रोमनाथ ओलीलाई भेट्न गए । यसअघि ज्ञापनपत्र बुझाउँदा मंगलबारको कार्यपालिका बैठकमा सुकुम्बासी समस्याको समाधानबारे छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिबद्धताअनुसार सुकुम्बासीहरू बैठक सुरु हुनुभन्दाअघि नगरप्रमुख ओलीलाई भेट्न पुगे । तर, सकुम्बासीमाथि मेयर ओली उल्टै खनिए । ‘तपाईंहरूले दिएको विज्ञप्ति ७ गतेको बैठकमा छलफल गर्ने भनेर तोक लगाएको हैन नि,’ मेयरको कार्यकक्षमा पुगेका सुकुम्बासीलाई हप्काउँदै ओलीले भने, ‘छलफल नभई केही हुँदैन । कार्यपालिकाको बैठक हुन्छ अनि सुन्न आउनू ।’ ओली सुकुम्बासीप्रति निकै आक्रामक देखिन्थे । 

उनले सुकुम्बासीलाई सबैले उक्साएको भन्दै उतै जान चेतावनी दिए । ‘तपाईंहरूलाई हामीले थन्क्याउँछौँ भनेकै छ । तर, अरूको उक्साहटमा लाग्ने ?,’ ओलीले भने, ‘जसले उक्साउँदै छ उतै जानू । सुकुम्बासीको नाममा ढुकुम्बासीलाई दिइँदैन ।’ ओली आफ्ना कुरा राख्न गएका सुकुम्बासीको कुरा नसुनी बीचमै उठेर हिँडे । ‘मेयर हाम्रै हो । हामीलाई आश्वस्त पारेर हाम्रो माग पूरा हुन्छ भन्ने सोचेका थियौँ । तर, उहाँको प्रस्तुति त हामीलाई कुटौँलाझैँ गर्ने थियो,’ सुकुम्बासी मानाहाङ सुब्बा भन्छन्, ‘हाम्रो कुरै सुन्न मान्नुभएन ।’ 

गत २७ चैतमा नगरपालिकाले डोजर चलाएपछि सुकुम्बासीहरू त्रिपाल टाँगेर बसेका छन् । त्यहाँ एकपटक पनि जनप्रतिनिधि नपुगेको सुकुम्बासीको गुनासो छ । ‘हामीलाई विकल्प नदिई घर भत्काइयो । घर भत्काउने वेलामा थाहै नदिई प्रहरीले लग्यो । छोड्दा त घर भत्काइसकेको रहेछ,’ सुकुम्बासी मनीष बराइली भन्छन्, ‘भत्काउँदा त जानकारी दिएन । तर, भत्काएपछि एकपटक त जनप्रतिनिधि आएर यसरी व्यवस्थापन गर्छौँ भन्नुपर्छ नि !’ 

नगरप्रमुख ओली आक्रामक रूपमा प्रस्तुत भएपछि निर्णय सुन्न नगरपालिका पुगेका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् । प्लेकार्डसहित नाराबाजीमा उत्रिएका सुकुम्बासीले दमक नगरपालिका घेराउ गरे । ‘हामी त निर्णय सुन्न आएका थियौँ, तर मेयर साबको कुरा सुन्दा हामीले न्याय पाउँछौँजस्तो लागेन,’ सुकुम्बासी राम सम्बाहाम्फे भन्छन्, ‘बाध्य भएर आन्दोलनमा उत्रनुपर्यो । हाम्रो उचित व्यवस्थापन नगर्ने भए हामी योभन्दा ठूलो आन्दोलनमा उत्रन्छौँ ।’

घर नभएकाको व्यवस्थापन हुन्छ : नगरपालिका
दमक नगरपालिकाले घर भत्काइएका सुकुम्बासीको व्यवस्थापन गर्ने जनाएको छ । वास्तविक सुकुम्बासी भए उनीहरूको व्यवस्थापन गर्ने मंगलबारको कार्यपालिका बैठकले निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । ‘घर नभएका सुकुम्बासीलाई नगरपालिकाले व्यवस्थापन गर्छ । भएर पनि त्यहाँ बसेको अवस्थामा सामान सार्न पैसा पनि उपलब्ध गराउँछ,’ उनले भनिन्, ‘नगरपालिकाले बनाएका घरमा पानी, बिजुली नजोडेसम्मका लागि नगरपालिकाले भाडामै राख्ने निर्णय गरेको छ ।’

तर, सुकुम्बासीले नगरपालिकाको यो निर्णयमा विरोध जनाएका छन् । भूमि व्यवस्था आयोगले सुकुम्बासीको फाराम भरेको अवस्थामा नगरपालिकाले घर भत्काएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । ‘हामी त वास्तविक सुकुम्बासी हौँ । २० वर्षदेखि यहाँ बसेका छौँ । कानुनले पनि हामीलाई त धनीपूर्जासहितको जग्गा दिन्छ । सुकुम्बासीको फारम पनि भरेको छ,’ सुकुम्बासी विमला विश्वकर्माले भनिन्, ‘नगरपालिकाले दिने घर त भाडामा बसेजस्तै हो । धनीपूर्जा छैन । बसुन्जेल बस्ने निस्केका दिन सडकमा पुग्ने । त्यसकारण नगरपालिकाको निर्णय हामीलार्ई मान्य छैन ।’

सुझावित समाचार