सिसिक्यामेराले नेपालको गतिविधि नियाल्दै भारत

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

दशगजाबाट झन्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरी सिसिक्यामेरा जडान

भारतले नेपालको शान्ति, सुरक्षालाई चुनौती दिँदै दशगजामै सिसिक्यामेरा जडान गरेको छ । दशगजामा हुने आपराधिक गतिविधिलाई नियाल्न सिसिक्यामेरा जडान गरिएको भारतीय पक्षले दाबी गरेको छ । तर, सिसिक्यामेराको क्षमता पाँच सय मिटरसम्मको गतिविधि नियाल्न सक्ने रहेको नाम उल्लेख नगर्ने सर्तमा एक भारतीय अधिकारीले जानकारी दिए । 

भारतीय सुरक्षा अधिकारीको भनाइलाई आधार मान्ने हो भने भारतले दशगजामा जडान गरेको सिसिक्यामेराको सहायताले नेपालगन्ज भन्सारसम्म हुने गतिविधि भारतीय पक्षले रुपइडिहामा बसेर गर्न सक्नेछन् । भारतीय पक्षले दशगजाबाट झन्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरी त्यसमा सिसिक्यामेरा जडान गरेको छ । 

सिसिक्यामेराको बारेमा भारतीय पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । भारतीय पक्षले दशगजामा हुने गतिविधि नियाल्न सिसिक्यामेरा जडान गर्न लागेको भन्ने अनौपचारिक सूचना पाएको एक सुरक्षाकर्मीले बताए । उनका अनुसार, सिसिक्यामेराबाट नेपालगन्ज भन्सारसम्मको गतिविधि भारतले हेर्न सक्नेछ । ‘भारतले नेपालको सहमतिविना दशगजामा आफूखुसी सिसिक्यामेरा जडान गरेको छ । यसले नेपालको शान्ति सुरक्षामा चुनौती थपिएको छ,’ उनले भने । 

सीमानाकामा कुनै पूर्वाधार निर्माण गर्नुभन्दा पहिले दुई देशबीच सहमति हुनुपर्छ । दशगजामा गतिविधि सञ्चालन गर्दा दुवै देशलाई कुनै असर नपर्ने गरी सञ्चालन गर्ने दुई देशका सुरक्षा अधिकारीबीच निर्णयसमेत भएको छ । तर, भारतीय पक्षले नेपालको सुरक्षालाई चुनौती दिँदै अन्तर्राष्ट्रिय मापदण्डविपरीत नाकामा सिसिक्यामेरा जडान गरेको छ । दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । त्यस्तै, केन्द्रस्थित दिल्लीमा रहेको एसएसबीको मुख्यालयले त्यसको अनुगमन गर्ने बताइएको छ । 

स्थानीय प्रशासन अनभिज्ञ
भारतीय पक्षले दशगजानजिकै सिसिक्यामेरा जडान गरेको कुनै पनि जानकारी प्रशासन कार्यालयमा नआएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले दुई देशको सिमानामा सिसिक्यामेरालगायत सुरक्षामा असर पर्ने अन्य कुनै संरचना निर्माण गर्न नमिल्ने बताए । यस विषयमा भारतीय पक्षसँग जानकारी लिने बताउँदै उनले दशगजानजिकै सिसिक्यामेरा जडान गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए ।

‘भारतले दशगजानजिकै सिसिक्यामेरा जडान गरेको हो भने यो सरासर अन्तर्राष्ट्रिय कानुनविपरीत हो । यो या त्यो बहानामा भारतले दशगजानजिकै सिसिक्यामेरा जडान गर्न पाउँदैन,’ उनले भने, वास्तविकता बुझेर यस विषयमा भारतसँग कुरा राख्छौँ । हो भने विरोध गरेर हटाउन लगाउँछौँ ।’

सुझावित समाचार