बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बंगलादेश स्वतन्त्र भएको स्वर्णोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि सुरु भएको शतवार्षिकी समारोहमा यस साता दक्षिण एसियाली विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख हरेक दिनजसो समारोहमा भाग लिन गएका छ्न् ।
नेपालका राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको दिनमा अन्य मुलुकका विशिष्ट अतिथि बोलाइएको थिएन । राष्ट्रपति भण्डारीको भ्रमणको पहिलो दिनको अधिकांश समय द्विपक्षीय भेटघाट, समारोह र रात्रिभोजसहितका कार्यक्रममा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिनालगात विशिष्ट व्यक्तिले नेपाललाई नै समय दिएको पाइयो । यसले नेपाललाई बंगलादेशले दिएको उच्च सम्मान र सदभावका रूपमा लिन सकिन्छ ।
मित्रराष्ट्र जनवादी गणतन्त्रका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भएको सो भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ आयामका साथ अघि बढाउने आधार पनि तय गरेको छ । दुवै मुलुक एकैपटक अल्पविकसितबाट विकासशीलमा स्तरोन्नति हुन लागेको सुखद पूर्वसन्ध्यामा एक–अर्काले आर्थिक समृद्धिका अनुभव लिई शुभकामना दिने अवसर पनि भ्रमणले दिएको छ ।
विश्व इतिहासमा बंगलादेशी स्वतन्त्रता युद्ध (बाङ्लादेशेर स्वाधीनता जुद्धो) को आफ्नै पहिचान छ । बंगलादेशी राष्ट्रवादी तथा स्वदृढताको क्रान्ति १९७१ मार्च २६ मा सुरु भएर १९७१ डिसेम्बर १६ मा अन्त्य भएको थियो । सो युद्धले बंगलादेशलाई स्वतन्त्र मुलुक तुल्याएको थियो ।
१९७१ मार्च २५ को रात पश्चिमी पाकिस्तानले पूर्वीपाकिस्तानमा रहेका मानिसलाई आक्रमण गरेपछि सुरु भएको सो युद्धमा बंगलादेशका नागरिक, विद्यार्थी, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारी संलग्न थिए ।
सन् १९७१ डिसेम्बर १६ मा पश्चिमी पाकिस्तानले आत्मसमर्पण गरेपछि ‘पूर्वी पाकिस्तान’ भनिने ठाउँलाई ‘बंगलादेश’ भन्न र देशको मान्यता दिन थालियो । आन्दोलनका अग्रणी नेता बंगबन्धुको योगदानलाई बंगलादेशले उच्च सम्मान दिँदै आएको छ । उनको जन्मशतवार्षिकी र मुलुक स्वतन्त्र भएको ५० वर्ष पुगेका अवसरमा त्यहाँको सरकारले वर्षभरि समारोह गरी विश्वमा आफ्नो इतिहासको गौरवगाथालाई उजिल्याउने प्रयत्न गरेको पाइएको छ ।