वर्ष दिनपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

मंगलबार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्दै 

खेलतालिका
मंगलबार : किर्गिस्तानविरुद्ध बंगलादेश (५:३० बजे)
बिहीबार : नेपालविरुद्ध किर्गिस्तान (५:३० बजे)
शनिबार : नेपालविरुद्ध बंगलादेश (५:३० बजे)
सोमबार:  शीर्ष दुई टोलीबीच फाइनल (५:३० बजे)

.....                      .......

कोभिड–१९ (कोरोना महामारी)पछि नेपालमा घरेलु खेलकुद लयमा फर्किसकेको छ । केही ठूला प्रतियोगिता आयोजना भइसकेका छन् । अरू धैरै प्रतियोगिता घोषणा भएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय प्रतियोगिताले अझै स्वरूप लिन सकेको छैन । अन्य देशमा कोरोना भाइरस नियन्त्रणबाहिर हुँदा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना अझै सहज देखिएको छैन । 

विश्वकप २०२२ र एसिया कप २०२३ छनोटअन्तर्गत रंगशालामै हुनुपर्ने खेलहरू पनि निरन्तर रद्द हुँदै आइरहेका छन् । ती खेल रद्द भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘थ्री नेसन कप’ मंगलबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान र बंगलादेश सहभागी हँुदै छन् । मंगलबार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्दै छन् । 

किर्गिस्तानले प्रतियोगितामा आफ्नो ओलम्पिक (यु–२३) टोली पठाएको छ भने नेपाल र बंगलादेशको सिनियर टोली नै प्रतिस्पर्धामा उत्रिनेछ । बंगलादेशले आफ्नो टोलीमा ६ नयाँ खेलाडीलाई समावेश गरेको जनाएको छ । यद्यपि, उसले आफ्नो टोलीलाई राष्ट्रिय टोली भनेकाले नेपालसँगको खेललाई विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दिएको छ । 

यो खेलले कम्तीमा कोरोना महामारीपछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनको संकेत गर्नेछ । रंगशालामा मंसिर ०७६ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलको प्रतिस्पर्धा भएदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएको छैन । 

दशरथ रंगशालामा नेपाली सिनियर राष्ट्रिय टोलीले प्रतिस्पर्धा नगरेको त अझ धेरै वर्ष भइसकेको छ । ०७२ को विनाशकारी महाभूकम्पले ध्वस्त बनेको दशरथ रंगशालाको पुनर्निर्माणमा धेरै वर्ष लाग्यो । सरकारले १३औँ सागलाई लक्षित गरी रंगशालाको निर्माण गरेको हो । 

त्यसैले आमन्त्रित प्रतियोगिता नै भए पनि रंगशालामा विदेशी टोलीसँग प्रतिस्पर्धा गर्न पाउँदा नेपाली खेलाडी उत्साहित छन् । ‘रंगशालामा हामीले खेल्न नपाएको त धेरै वर्ष भइसक्यो,’ उपकप्तान एवं नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द भन्छन्, ‘यसबीचमा विश्वकप छनोटअन्तर्गत रंगशालामा हुने तय भएका खेलहरू पनि निरन्तर रद्द भइरहेका छन् । त्यसले गर्दा पनि खेलाडीहरू निरुत्साहित देखिएका थिए । यो प्रतियोगिताले सबै खेलाडीमा उत्साह देखिएको छ ।’

हामी लामो समयदेखि तयारी गरिरहेका छौँ । त्यसैले खेलाडीले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ । यद्यपि, प्रतियोगिताका लागि अझैसम्म टोलीको घोषणा भइसकेको छैन ।  - बालगोपाल महर्जन, प्रशिक्षक, नेपाली टोली

हामीले अहिले ६ जना नयाँ खेलाडीलाई समावेश गरेका छौँ । आफ्नै टिम राम्रो बनाउनेतर्फ केन्द्रित हुनेछौँ । सो उद्देश्यका लागि टोलीमा रहेका सबै खेलाडीले मैदानमा उत्रने अवसर पाउनेछन् । - जेम्स डे, प्रशिक्षक, बंगलादेश टोली

प्रतियोगिताका लागि हामीले धेरै तयारी गर्न पाएका छैनौँ । घरमै पनि च्याम्पियनसिप सुरु भएकाले टोलीलाई हामीले तयारी गर्न पाएनौँ । हामी कोरोना महामारीपछि लयमा फर्कंदै छौँ । त्यसैले पनि यो प्रतियोगितामा खेल बनाउने प्रयास गर्नेछौँ । - झोल्दोसोभ नुर्बेक, प्रशिक्षक, किर्गिस्तान टोली
 

‘टिम बिल्डअप’मा केन्द्रित 
प्रतियोगितामा सहभागीमध्ये नेपाल र बंगलादेश विश्वकप ०२२ र एसियाकप ०२३ को छनोटमा सहभागी छन् । किर्गिस्तानले पनि कोरोना महामारीपछि आप्mनो टोलीलाई लयमा फर्काउने प्रयासस्वरूप यो प्रतियोगितामा सहभागी भएको जनाएको छ । 

यहीकारण पनि टोलीहरूले यो प्रतिस्पर्धामा नतिजाभन्दा पनि ‘टिम बिल्डिङ’का लागि प्रयास गर्ने देखिएको छ । किर्गिस्तानका प्रशिक्षक झोल्दोसोभ नुर्बेक कोरोना महामारीपछि प्रतियोगितामा फर्किएकाले आफ्नो टोली निर्माणमा केन्द्रित हुने प्रतिक्रिया दिए । ‘प्रतियोगिताका लागि हामीले धेरै तयारी गर्न पाएका छैनौँ । घरमै पनि च्याम्पियनसिप सुरु भएकाले टोलीलाई हामीले तयारी गर्न पाएनौँ,’ प्रशिक्षक झोल्दोसोभ भन्छन्, ‘हामी कोरोना महामारीपछि लयमा फर्कदै छौँ । त्यसैले पनि यो प्रतियोगितामा आफ्नो खेल बनाउने प्रयास गर्नेछौँ ।’

बंगलादेशका प्रशिक्षक जेम्स डेको धारणा पनि उस्तै रह्यो । उनले विश्वकप छनोटको प्रतिस्पर्धालाई आफ्नो टोली तयार गर्न यो प्रतिस्पर्धाले मद्दत गर्ने बताए । त्यसका लागि उनले टोलीमा रहेका सबै ६ नयाँ खेलाडीलाई अवसर दिने जनाए । ‘टोलीमा हामीले अहिले ६ जना नयाँ खेलाडीलाई समावेश गरेका छौँ । आफ्नै टिम राम्रो बनाउनेतर्फ केन्द्रित हुनेछौँ,’ प्रशिक्षक जेम्सले भने, ‘सो उद्देश्यका लागि टोलीमा रहेका सबै खेलाडीले मैदानमा उत्रने अवसर पाउनेछन् ।’ उसले पनि यो प्रतियोगिताका लागि लामो समय तयारी गर्न नपाएको जनाए । दुवै टोलीले त्रिदेशीय यो प्रतियोगितामा नेपाल बलियो रहेको धारणा राखे । 

बंगलादेश र नेपाल दुवै आगामी विश्वकप र एसियाकपको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी छन् । नेपाल समूह बी र बंगलादेश समूह ईमा रहेको छ । कोरोना भाइरस महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी)ले होम एन्ड अवे प्रणालीमा हुनुपर्ने यो छनोट चरणको बाँकी सबै खेल अब एउटै ‘भेन्यु’बाट टुंग्याउने निर्णय गरेको छ । 

त्यसअनुसार आगामी ३१ मेदेखि १५ जुनसम्म यो चरणको बाँकी सबै खेल आयोजना हुनेछन् । नेपालको समूहको खेल कुवेत र बंगलादेशको समूहको खेल कतारले आयोजना गर्दै छ । त्यसैले नेपाल र बंगलादेशका लागि सोही प्रतियोगिताका लागि टोली तयार पार्न यो प्रतियोगिता महत्वपूर्ण हुनेछ । 

नेपाली टोली विश्वकप र एसियाकप छनोटको तयारीस्वरूप पछिल्लो तीन महिनादेखि बन्द प्रशिक्षणमा छ । नेपालले विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । यद्यपि, यसअघि नै नेपालमा हुनुपर्ने यी सबै खेल कोरोना महामारीका कारण नेपालबाहिरै हुने भएको छ । सोही तयारी यो प्रतियोगिताका लागि पनि महत्वपूर्ण हुने देखिएको छ । 

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ प्रशिक्षक बालगोपाल भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’ यद्यपि, उनले प्रतियोगिताका लागि अझैसम्म आफ्नो टोलीको घोषणा गरेका छैनन् । 
सम्भवतः उनले मंगलबार किर्गिस्तान र बंगलादेशको खेल हेरेपछि मात्रै टोली तय गर्नेछन् । सोमबार भएको पत्रकार सम्मेलनमा पनि उनले उद्घाटन खेल हेरेपछि रणनीति तय गरिने जनाए । 

किरणलाई कप्तानको जिम्मेवारी
थ्री नेसनकपमा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । सोमबारको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपालले प्रतियोगितामा नेपाली टोलीको कप्तानी किरणले गर्ने जनाएका हुन् । त्यसका लागि किरण भारतबाट नेपाल आइपुगेका छन् । आइलिग खेल्न भारतमा रहेका उनी सोमबार साँझ नै नेपाल आइपुगेका हुन् । नेपाली टोलीको उपकप्तानका रूपमा रोहित चन्द रहनेछन् ।

See More On

सुझावित समाचार