क्रियाशील सदस्यको विवरण केन्द्रमा पठाइसक्नुपर्ने म्याद सकियो, तर ३० जिल्लाको प्रगति अत्यन्तै न्यून
रमेश लेखक : महाधिवेशनको पूर्वतयारीको सबैभन्दा पहिलो काम भनेकै क्रियाशील सदस्यता वितरण र नवीकरण हो । धेरैजसो जिल्लामा काम सुरु भएको छ, तर काम सुस्त छ, त्यसलाई गति दिनुपर्ने अवस्था छ ।
अर्जुननरसिंह केसी : युद्धस्तरमा काम गरेर भए पनि क्रियाशील सदस्यताको नवीकरण र वितरण टुंगोमा पु¥याउनुपर्छ, यसको अर्को विकल्प नै छैन । बरु १३औँ महाधिवेशनको जुन सदस्यता हो, त्यसलाई आधार मानेर भए पनि अधिवेशन समयमै गर्नुपर्छ ।
प्रदीप पौडेल : चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि भएन । ९० प्रतिशत तयारी सकेर ६ महिना म्याद थपेको भए राम्रो हुन्थ्यो, तर यहाँ त १० प्रतिशत पनि तयारी नभएको अवस्थामा ६ महिना म्याद थपिएको छ, अब पनि कम मात्रै चासो दिने हो भने महाधिवेशन कसरी हुन्छ ?
..... .......
कांग्रेसले अन्तिमपटक भन्दै बनाएको १४औँ महाधिवेशनको कार्यतालिका पनि प्रभावित भएको छ । कार्यतालिकाअनुसार ७७ वटै जिल्लाले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नुपर्ने म्याद मंगलबारबाट सकिएको छ । तर, कुनै पनि जिल्लाले सदस्यताको अन्तिम सूची बुझाएका छैनन् । क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ भएपछि कांग्रेसमा पुनः महाधिवेशनको कार्यतालिका फेर्नुपर्ने बाध्यता आइलागेको छ ।
क्रियाशीलको काम थालेको एक वर्षपछि कांग्रेसका शीर्ष नेताहरूलाई क्रियाशील सदस्यता वितरण र नवीकरणको ‘ग्राउन्ड रिपोर्टिङ’ भएको छ । सोमबारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महाधिवेशन गर्ने अन्तिम भाका तोकेपछि गठन गरेको ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’का सदस्यहरूले स्थलगत रूपमै अनुगमन गरेर संकलन गरेको वास्तविकता रिपोर्टिङ गरेका छन् ।
‘समितिले अहिलेसम्म गरेका काम र प्रगतिका विषयमा नेताहरूलाई जानकारी गरायौँ, महाधिवेशनको पूर्वतयारीको सबैभन्दा पहिलो काम भनेकै क्रियाशीलको वितरण र नवीकरण हो, वडादेखि केन्द्रसम्म पार्टीको संगठनको गठन गर्ने काम क्रियाशीलले गर्छन् । वडाबाट पठाउने क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन, महासमिति र सातवटै प्रदेशमा हुने प्रदेश अधिवेशनका प्रतिनिधिको पनि चयन गर्छन्,’ समितिका संयोजक लेखकले भने, ‘धेरैजसो जिल्लामा काम सुरु भएको छ, तर, काम सुस्त छ, त्यसलाई गति दिनुपर्ने अवस्था छ ।’
बैठकमा सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी क्रियाशीलको काम अघि बढाउन निर्देशन दिएका छन् । संस्थापनइतर पक्षले भने महाधिवेशनको तयारीलाई गति दिन देउवाको ध्यानाकर्षण गराएको छ । ‘हामी महाधिवेशनको तयारीमा लागेका छौँ, क्रियाशील सदस्यता वितरण र नवीकरणको काममा केही अप्ठ्याराहरू आएका छन्, कहाँ कस्ता समस्या छन् ? कसरी सुल्झाउने ? भन्ने विषयमा छलफल भयो,’ बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ पत्रिकासँग भने । सोमबारको छलफलपछि नेताहरूलाई कार्यतालिका फेर्नैपर्ने दबाब परेको छ । अझै केही साताको कार्यप्रगति हेरेर चैतको तेस्रो सातापछि केन्द्रीय समितिको बैठकबाट कार्यतालिका फेर्ने कसरत सुरु भएको एक नेताले बताए ।
छानबिन समितिले केन्द्रीय सदस्यहरूलाई क्रियाशील सदस्यता वितरण र नवीकरणको स्थलगत अनुगमन र निर्देशनका लागि खटाएको थियो । समितिको समेत सदस्य रहेका केन्द्रीय सदस्यहरू जीवन परियार र आनन्द ढुंगाना प्रदेश नम्बर १ र २, प्रदीप पौडेल र श्यामकुमार घिमिरे बागमती र गण्डकी प्रदेश तथा कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खटिएका थिए । सोमबारको बैठकमा सबै केन्द्रीय सदस्यहरूले आ–आफ्ना तर्फबाट स्थलगत रूपमा भ्रमणपछि पाएका समस्या र समाधानका उपायबारे रिपोर्टिङ गरेका थिए ।
कांग्रेसको तल्लो तहमा समयमै महाधिवेशन हुँदैन भन्ने मनोविज्ञान
छानबिन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेल तल्लो तहमा समयमै महाधिवेशन हुँदैन भन्ने मनोविज्ञान हाबी रहेको बताउँछन् । ‘केन्द्रमा संस्थापनले महाधिवेशनका लागि त्यति चासो दिएको छैन, त्यसैको प्रभाव तल्लो तहमा परेको छ, केन्द्रीय समितिले निर्णय गरेर निर्देशन दिए पनि नेताहरूले अनौपचारिक रूपमा छुट दिएका कारण क्रियाशीलको कामले गति पाएको छैन,’ उनले भने ।
नेता पौडेलले क्रियाशील सदस्यताको विवरण आउनै ढिला भएकाले यही गतिले महाधिवेशन तोकिएकै मितिमा गर्न सम्भव नहुने बताए । ‘वडा तहको अधिवेशन आउन अब करिब तीन महिना मात्रै बाँकी छ, हामीकहाँ अझै क्रियाशीलको सूची नै ड्राफ्ट भएको छैन, त्यसपछि छानबिनको काम सिंगै बाँकी रहन्छ,’ नेता पौडेलले भने, ‘गत महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको छानबिन समितिलाई साढे चार लाख सदस्यता छानबिन गर्न ७ महिना लागेको थियो, अहिले १० लाखको छानबिनका लागि अब दुई महिना पनि समय छैन ।’
छानबिन समितिका अर्का सदस्य जीवन परियारले क्रियाशील सदस्यताको विवाद समाधान गर्न पार्टी नेतृत्वले चासो दिनुपर्ने बताए । ‘यो छानबिन समितिलाई मात्रै छाडिदिने हो भने महिनौँ लाग्छ, नेताहरूले नै बढी चासो नदिए तोकिएको मितिमै महाधिवेशन गर्न मुस्किल छ,’ उनले भने । क्रियाशीलकै कारण महाधिवेशन प्रभावित हुने अवस्था आए अघिल्लो महाधिवेशनका क्रियाशीलका आधारमा भए पनि समयमै महाधिवेशन गर्नुपर्ने पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बताए ।
क्रियाशील सदस्यको संख्या दश लाख पुग्ने
कांग्रेसमा हाल करिब पाँच लाख क्रियाशील सदस्य छन् । १४औँ महाधिवेशनअघि कांग्रेसले शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्दै छ । यस आधारमा कांग्रेसमा अब क्रियाशील सदस्यको संख्या दश लाख पुग्नेछ । यसपटक कांग्रेसले सदस्यताको विवरण सफ्टवेयरमा तयार गर्दै छ । कांग्रेसले हरेक जिल्ला र क्षेत्रीय समितिले सदस्यता वितरण र नवीकरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गर्न निर्देशन गरेको छ । तर, अहिलेसम्म नौ जिल्लामा क्रियाशीलको विवरण इन्ट्री गर्ने काम सुरु नै भएको छैन ।
अहिलेसम्म ६९ जिल्लाबाट इन्ट्री सुरु भएको समितिका संयोजक लेखकले बताए । सप्तरी, सिराहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुमपूर्व र डोल्पा जिल्लामा सदस्यताको विवरण इन्ट्री गर्ने कामको थालनी भएको छैन । अहिलेसम्म तीन लाख ९२ हजार सात सय ९४ जनाको विवरण मात्रै केन्द्रीय कार्यालयमा प्राप्त भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले गत ६ फागुनमा सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार छानबिन समितिले क्रियाशील सदस्यतामाथि छानबिनसमेत सकेर क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय समितिलाई बुझाउनुपर्ने म्याद आगामी १७ जेठसम्म छ । त्यसपछि केन्द्रीय सभापतिले निर्वाचन समितिलाई अधिवेशनको प्रक्रिया अघि बढाउन अन्तिम सूची प्रदान गर्ने कार्यतालिका छ । ५ असारबाट अधिवेशन सुरु हुन्छ । कार्यतालिकाअनुसार ५ असारमा वडा, ७ असार पालिका, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन, ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुने कार्यतालिका छ ।