सेनालाई विवादमा तान्ने प्रयासप्रति सजग र सतर्क रहौँ : प्रधानमन्त्री ओली (भिडियोसहित)

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले संकीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आलीले सेनालाई विवादमा तान्न हुने गरेका प्रयासहरूप्रति सजग र सतर्क रहन आग्रह गरे । 

कानुन उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने उनको भनाइ छ । ओलीले भने, ‘आफ्ना संकीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्नेलगायत विभिन्न खालमा प्रवृत्तिहरू देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने, नेपाली सेनाका सदासयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरू उचाल्ने । त्यस्तो कुराहरू गर्नहुँदैन । नेपाली जनताको चेतनालाई समयसमयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरूसँग सतर्क हुनुपर्छ ।’

उनले सुरक्षा परिषद्को संवैधानिक, कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गरे । विशेष गरी, प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । 

तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो–सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उनले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लंघन हुन्छ कि भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए । 

नेपाल सरकार सधैँ शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोहीअनुसार प्रतिरक्षा र सुरक्षालगायत नीति तय गरिएको ओलीको भनाइ छ ।
 

सुझावित समाचार