प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारलाई पुनर्स्थापनाको आश्वासन दिएका छन् । बिहीबार ताप्लेजुङको दोभानबजारस्थित आगलागीस्थल पुगेर उनले अग्निपीडित परिवारको पुनर्स्थापनामा तीनै तहका सरकारको साथ रहने बताएका हुन् ।
पीडित परिवारको पुनस्र्थापना र बजारको व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले साथ दिने उनले बताए । अग्निपीडित परिवारको पुनर्स्थापनाका लागि प्रधानमन्त्री केपी ओलीसँग समेत आवश्यक परामर्श भइरहेको उनले जानकारी दिए । राईले प्रदेश सरकारका तर्फबाट आवश्यक पहल सुरु गरिसकेको पनि बताए । ‘पीडितका लागि प्रारम्भमा संघीय सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ, सो सहयोग रकम प्रमुख जिल्ला अधिकारीमार्फत चाँडै पीडित परिवारसम्म आइपुग्नेछ,’ उनले भने ।
प्रदेश सरकारले अग्निपीडित परिवारमध्ये घरधनीलाई प्रतिपरिवार ५० हजार र डेरावाललाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेश सरकारले निर्णय गरेअनुसारको रकम पनि प्रजिअमार्फत केही दिनभित्रै पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । आपत्कालीन राहतस्वरूप पीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको उनले बताए । मुख्यमन्त्री राईले चामल, दाल, खानेतेल, नुनलगायत खाद्यान्न सामग्री पीडित परिवारलाई वितरण गरेका थिए ।
मुख्यमन्त्री राईले अग्निपीडितले राखेका मागको विषयमा संघीय सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । ‘पीडित परिवारको पुनर्स्थापना, सहुलियत ऋण, कर छुट, इन्टरनेट सञ्चालन, बजार व्यवस्थापन, बजारभित्रको सडक पुनर्निर्माणलगायतबारे अग्निपीडितले राखेको मागका विषयमा तीनै तहको सरकार मिलेर काम गर्नेछौँ,’ उनले भने । दैवीप्रकोप र विपत् तथा समस्यामा परेका जनताको सुविधाकै लागि तीन तहको सरकार क्रियाशील रहेको बताउँदै उनले उनीहरूलाई छिटोछरितो राहत उपलब्ध गराउने, पुनस्र्थापना र व्यवस्थापन सरकारको दायित्व रहेको उल्लेख गरे ।
क्षतिको विवरण संकलन गरिँदै
मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे नेतृत्वको टोलीले आगलागीबाट भएको क्षतिको तथ्यांक संकलन गरिरहेको छ । अहिलेसम्मको विवरणअनुसार ४० करोड रुपैयाँबराबरको क्षति भएको तथ्यांक संकलन भएको बताउँदै उनले संकलन कार्य जारी रहेको उल्लेख गरे । तथ्यांकअनुसार एक करोड २२ लाख ५० हजार रुपैयाँबराबर संघसंस्थातर्फको क्षति भएको छ ।
आगलागीमा एक सय ५५ तोलाबराबर सुन र पाँच सय २० तोलाबराबरको चाँदीका गरगहाना जलेको छ । चामल ४१ हजार एक सय ७५ केजी, अलैँची २९ हजार ६ सय १७ केजी जलेर नष्ट भएको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।
ताप्लेजुङकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङदेन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ५० वटा घर जलेर नष्ट भएका छन्, जसबाट ६३ परिवार विस्थापित भएका छन् ।