नेकपाको ओली समूहले शनिबार बुटवलमा पूर्वलडाकुको राष्ट्रिय भेला गरेको छ । २६औँ जनयुद्ध दिवसका दिन ओली समूहले पूर्वलडाकुको भेला गरेको हो । नेकपा विभाजनपछि ओली समूहले पूर्वलडाकुलाई संगठन गराउने प्रयासस्वरूप लडाकुको राष्ट्रिय भेला आयोजना गरेको हो ।
भेलामा उपस्थित पूर्वलडाकुले आफूहरूका समस्याबारे धारणा राखेका थिए । त्यसपछि ओली समूहमा लागेका पूर्वमाओवादी पक्षका दुई नेता र एक पूर्वएमालेका नेताले लडाकुका समस्या समाधानबारे बोलेका थिए । भेलामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लडाकुका लागि राज्यले दिएको रकम कल्याणकारी कोष बनाएर राखेको भए अहिले उनीहरूको हितमा प्रयोग हुन सक्ने थियो भन्ने मत राखे । पुष्पकमल दाहाल प्रचण्डले बलिदानको मूल्यलाई बुझ्न नसकेको आरोप पनि उनले लगाए ।

भेलामा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अवसरवादीको घेरामा नेतृत्व पर्दा युद्ध लडेका र त्याग गरेका पछाडि परेको बताए । अब उनीहरूको सम्मान र व्यवस्थापन गरिने उनले बताए । उनले लडाकुका नाममा रकम हिनामिना भएको बताए । ‘क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर ३४ हजार भत्ता बुझ्यौँ, करिब सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ,’ मन्त्री रायमाझीले भने ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्ड आफ्नो वर्ग छाडेर अर्को वर्गसँग टाँसिन पुगेकाले आफूहरूले साथ छोडेको बताए । माओवादी जनयुद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झन्डै ६० करोड अनियमितता भएको भट्टले दाबी गरे । कार्यक्रममा पूर्वलडाकुहरूले सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन माग गरेका थिए । पूर्वलडाकुहरूले अहिले पनि गाँस, वास र कपासका लागि भौँतारिरहेको भन्दै राहत प्याकेज ल्याउन माग गरे ।
तस्बिर : ऊर्जामन्त्री टोपबहादुर रायमाझीको फेसबुकबाट