बलात्कारपछि हत्या प्रयास गरिएकी काठमाडौंकी युवतीको उपचारमा महिला आयोगले सहयोग गर्ने

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

सौतेनी बुबाबाट बलात्कारमा परेकी काठमाडौं जोरपाटीकी किशोरीको उपचारमा राष्ट्रिय महिला आयोगले सघाउने भएको छ । आयोगका अधिकारीहरूले मंगलबार युवती र उनका परिवारलाई भेटेर उपचारमा सहयोग गर्ने बताएका छन् । 

पीडित युवतीको अवस्था बुझ्न आयोगकी अध्यक्ष कमला पराजुली, सचिव शान्ता अधिकारी भट्टराईलगायतका अधिकारीहरू वीर अस्पताल पुगेका थिए । उनीहरूले परिवारका सदस्यलाई भेटेर घटनाबारे जानकारी लिएका छन् । पीडित युवतीकी आमाले उपचार खर्च जुटाउन आफूहरूलाई समस्या भइरहेको गुनासो गरिन् । ऋण खोजेर छोरीको उपचार भइरहेको उनको भनाइ छ । 

पीडित किशोरीको १० दिन आइसियूमा राखेर उपचार भएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको छ । धागो उद्योगमा काम गर्ने उनको परिवारको आर्थिक अवस्था कमजोर छ । आमा र दाजु अस्पतालमा बहिनीको कुरुवा बसेको वेला गत १४ माघमा सौतेनी बुबाले युवतीमाथि बलात्कार गरी हत्या प्रयास गरेका थिए ।

प्रतिकार गर्दा उनको टाउकोमा ढुंगाले हानेर हत्या प्रयास भएको थियो । रक्ताम्य र बेहोस अवस्थामा पीडित किशोरीलाई भोलिपल्ट अस्पताल पुर्याइएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । घटनाको भोलिपल्ट अभियुक्तलाई प्रहरीले जनकपुरबाट पक्राउ गरिसकेको छ । 

नयाँ पत्रिकामा मंगलबार यससम्बन्धी समाचार प्रकाशित भएपछि घटनाबारे चासो लिएर महिला आयोगका पदाधिकारीहरू पीडितलाई भेट्न अस्पताल गएका हुन् । पीडित किशोरीको उपचारका लागि सरकारबाट खर्च उपलब्ध गराउन आफूहरूले पहल गराउने आयोगकी सचिव भट्टराईले बताइन् । महिला तथा बालबालिका मन्त्रालयले यस्ता पीडितलाई सहयोग गर्न कोष बनाएको छ । साथै पीडित र उनको परिवारलाई आयोगले परामर्श दिने उनले बताइन् ।

सुझावित समाचार