राप्रपाका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व र प्रजातन्त्रको रक्षाका लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै थापाले विदेशीका दबाब र प्रभावमा परेकाले राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्न नसक्ने जिकिर गरे ।
ढिलो–चाँडो राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उनले बताए । नेकपाकै कारण देश दुर्घटनातर्फ धकेलिएको थापाको दाबी छ । थापाले भने ‘अशान्ति, अराजकताको वातावरण गुज्रिरहेको छ । ०५२ सालमा माओवादीले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न हिंसात्मक गतिविधि ग¥यो । त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन । संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन् । गरिबी, भ्रष्टाचार बढेर गएको छ, कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको छ । अहिले वर्षको पाँच लाखभन्दा बढी पासपोर्ट बनाएर अरबको मरुभूमि जान बाध्य भएका छन् । नेकपाभित्रको विवादले सिंगो देश बन्धक भएको छ । दुईतिहाइ बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको छ, जनतालाई बेइमानी र धोका भएको छ । ओली र प्रचण्डको नौटंकीको प्रतिस्पर्धाले देशलाई दुर्घटनातर्फ धकेलिरहेको छ ।’
सत्तारुढ दलले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्ने र त्यसलाई छल्न प्रधानमन्त्रीले संसद् विघटन गर्ने गलत अभ्यास नेकपाले गरेको उनको दाबी छ । विचाराधीन मुद्दामा अदालतलाई धम्क्याउन, तर्साउन करोडाँै खर्च गरेर सडक प्रदर्शन भइरहेको पनि उनले जिकिर गरे । व्यवस्थापिका प्रमुखले कार्यपालिका र न्यायपालिका प्रमुखविरुद्ध अदालतमा मुद्दा हाल्ने अवस्था बनेको भन्दै थापाले गणतन्त्रको मार्गचित्र असफल प्रमाणित भएको बताए । धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको औचित्यमाथि प्रश्नचिह्न खडा भएको थापाको भनाइ छ ।
कार्यक्रममा नेताहरू दीपक बोहोरा, विक्रम पाण्डे, श्याम तिमिल्सिना, विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, पूर्वअध्यक्ष उज्वल पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।