शुक्रबार दिनभरका मुख्य खबर

सभामुख सापकोटा किन गए सर्वोच्च अदालत ? (भिडियोसहित)

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा गरेको छ । सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापालगायत शीर्ष नेताले सम्बोधन गरेका छन् । नयाँ पत्रिकाकर्मी सतिश पोखरेल, ज्ञानेन्द्र कार्की र संजित परियारले कैद गरेका केही तस्बिर ।

प्रधानमन्त्री ओली भन्छन्–सक्कली र नक्कलीको फैसला भयो (भिडियोसहित)

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको पार्टी कम्युनिस्टको मात्र नभई देशकै मूल पार्टी भएको दाबी गरेका छन् । ओली समूहले राजधानीमा गरेको जनसभामा ओलीले अझै पनि केही मानिस कुन पार्टी आधिकारिक भन्ने भ्रममा रहेको बताउँदै भने, ‘आज कुन मूल पार्टी भन्ने, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो । अब पनि भ्रममा परिरहनुपर्छ र ?’

ईश्वर पोखरेल भन्छन्– आमहडतालमा आगजनी भएको ट्याक्सीको क्षतिपूर्ति हामी दिन्छौँ

नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी र चुनाव चिह्न आफूहरूसँगै रहेको दाबी गरेका छन् । ओली समूहले राजधानीमा आयोजना गरेको जनसभामा पोखरेलले भने, ‘कमरेड ओली, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो ।’ उनले आमहडतालको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै आपत्ति जनाए । आमहडतालको क्रममा ट्याक्सीमाथि आगजनी भएको भन्दै पोखरेलले ओली समूहले नेतृत्व गरेको नेकपाले क्षतिपूर्ति दिने बताए ।  

मांसाहारी आन्दोलन गर्नेलाई ‘जु’मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा (भिडियोसहित)

गृहमन्त्री तथा नेकपा केपी ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको जु (चिडियाखाना)मा लगेर बन्द गरिने बताएका छन् ।ओली समूहले काठमाडौंमा गरेको जनसभामा थापाले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरूलाई जुमा लगेर बन्द गरिने बताएका हुन् ।

ओली समूहको जुलुस पञ्चर्यालीजस्तै : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली समूहको जनप्रदर्शनलाई पञ्चर्यालीको संज्ञा दिएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा प्रचण्डले पञ्चहरूले जस्तै ओलीले प्रतिगामी कदम चालेर पञ्चर्यालीको आयोजना गरेको आरोप लगाए ।  

सेनाका बख्तरबन्द गाडी घुमाउँदैमा हामी डराउनेवाला छैनौँ : नेपाल 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनविरोधी आन्दोलन अझ सशक्त बन्दै जाने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा नेपालले नीति, विधि र सिद्धान्तको लडाइँमा नेकपाले चलाइरहेको आन्दोलनले छिट्टै सफलता हासिल गर्ने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाऊ सरकारले अहिले अनावश्यक त्रास सिर्जना गर्न खोजेकोसमेत नेपालले आरोप लगाए ।

सूर्य चिह्नमा केपी ओलीको नैतिक अधिकार छैन, अन्त्यका लागि नारायणहिटी पुगे : योगेश भट्टराई

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले सूर्य चिह्नमा प्रधानमन्त्री केपी ओलीको नैतिक अधिकार नभएको बताएका छन् । धादिङमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले सत्ता र शक्तिको पछि लागेर पार्टी एकताबाट भाग्नेहरूलाई सूर्य चिह्न र नेकपा दाबी गर्ने नैतिक अधिकार नभएको बताएका हुन् । 

ओलीको आमसभाअघि नागरिक अगुवाहरूको मार्चपास

आँखा जुधाउने आँट गर पुजारी 
म बीसौँ शताब्दीको अछुत हुँ 
म गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ 
म अपमानित इतिहासको हिसाब चाहन्छु 
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु 

बिहानै साढे सात बजेतिर लैनचौरस्थित पद्मरत्न तुलाधरको घरअघि बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूको आवाज घन्किरहेको थियो । आहुतिको ‘गहुँगोरो’ अफ्रिका’ शीर्षकको कविता अभियन्ताहरूको एकै स्वरमा गुन्जिरहेको थियो । कवि प्रणिका कोयूले नेतृत्व गरिरहेकी थिइन् ।  छेवैमा  बेलायती दूतावास र भारतीय दूतावास भर्खर ब्युँझेझैँ देखिन्थे, त्यो पनि नागरिकहरूको सामूहिक स्वरहरूले ।

ओलीले वैशाखमा चुनाव गराउँदैनन्, मुलुक उखानटुक्काले मात्रै चल्दैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव नगराउने दाबी गरेका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसारका कुनै पनि तानाशाहले आफूले जित्ने सुनिश्चित नभएसम्म चुनाव नगराउने जिकिर गरे । 

गरिबमाथि महानगरको ज्यादती

गत २१ पुसमा सुकेधारामा तरकारी बेच्दै गर्दा मन्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाएपछि रुँदै फिर्ता गर्न आग्रह गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोबारे सामाजिक सन्जालमा थुप्रै टिप्पणी गरिए । काठमाडौं महानगरपालिकाले महानगर सुन्दर बनाउन, फुटपाथ पैदलयात्रीमैत्री बनाउन र अपांगमैत्री बनाउन भन्दै वर्षौँदेखि फुटपाथमा व्यवसाय गर्नेहरूको सामान दैनिकजसो उठाउँछ, जसमध्ये केही भिडियो भाइरल हुन्छन्, र सामाजिक सञ्जालबाटै हराउँछन् । तर कलंकी, कोटेश्वर, बागबजार, बानेश्वर, गौशाला, चक्रपथ, सुकेधारा, रत्नपार्कजस्ता सधैँ भिडभाड भइरहने क्षेत्रहरूमा फुटपाथ व्यवसायीहरूको सामान महानगर प्रहरीले दैनिकजसो जफत गर्छ, कुहिने, सड्ने र गल्ने सामान, अनधिकृत सवारी पार्किङ जरिवानासहित फिर्ता गर्छ, ठेलागाडा, कपडा, ग्यास सिलिन्डरजस्ता सामान लिलामी गर्छ । यसबारे कसैको ध्यान दिइएको पाइँदैन ।

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई गाउँपालिकाको उन्मुक्ति, जाहेरी दिने तयारीमा अभिभावक

विद्यालयमै विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने झापाको एक विद्यालयका दुई शिक्षकलाई गाउँपालिकाले उन्मुक्ति दिएको छ । कमल गाउँपालिका– ३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईले गल्ती गरेको निष्कर्ष निकाल्दै उन्मुक्ति दिएको हो । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेसहित बसेको शिक्षा समितिको बैठकले शिक्षकले गरेको अपराधमा घरपायक सरुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षक पोखरेल र भट्टराईले वर्षौँदेखि माथिल्लो कक्षाका बालिकालाई असहज हुने गरी छुने, चलाउने, गाला मसार्नेजस्ता अस्वाभाविक गतिविधि गर्ने गरेको आरोप छ । 

सभामुख सापकोटा किन गए सर्वोच्च अदालत ? (भिडियोसहित)

सभामुख अग्निप्रसाद सापकोटाले शृंखलाबद्ध रूपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् । सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले शृंखलाबद्ध रूपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनका लागि संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा आफू पुगेको बताएका हुन् ।

हिउँदको उत्तरार्धमा पश्चिम नेपालमा वर्षासँगै हिमपात, काठमाडौंमा बदली

हिउँद सकिनै लाग्दा पश्चिम नेपालमा वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।  पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम बिहीबार रातिदेखि वर्षासँगै हिमपात भइरहेको र यो क्रमपूर्वतिर सर्दै गएको मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  पछिल्लो २४ घन्टामा सबैभन्दा बढी डडेल्धुरामा ९.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, दिपायल, जुम्ला, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही र पोखरामा पनि वर्षा मापन भएको छ ।  

सुझावित समाचार