नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा आइतबार गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै खनालले दिनगन्ती सुरु भइसकेको दाबी गरे । सरकार पाकेको फलझैँ झर्ने उनको भनाइ छ ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले २३ पुसमा काठमाडौंमा गर्ने भनेको जनसभामा राजावादीहरू पनि सहभागी हुने सूचना आएको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ पुसको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको बताए ।
प्रधानमन्त्री ओली संविधान मास्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनले बताए ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताइन् । ओली प्रतिक्रियावादीको मतियार बनेको उनको जिकिर छ ।
विघटित प्रतिनिधिसभा सदस्य पूर्णकुमारी सुवेदीले संविधानविपरीत जाने कदमका विरुद्ध लागिरहने बताइन् । संविधानको रक्षाको निम्ति जति दिन पनि आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।
१४ पुसदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । आइतबारको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि सहभागी थिए ।