ओलीले संसद् मात्र होइन, शान्तिप्रक्रिया नै विघटन गर्न खोजेका छन्, खबरदार : प्रचण्ड (भिडियोसहित)
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद् मात्र नभई शान्तिप्रक्रिया नै विघटन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको बृहत् विरोध सभामा प्रचण्डले भने, ‘केपी ओलीले संसद् मात्र होइन, शान्तिप्रक्रिया नै विघटन गर्न खोजेका छन्, खबरदार ।’ तीन वर्षमा ओलीलाई सच्याउन नसकिएको भन्दै प्रचण्डले आत्मालोचनासमेत गरे । उनले भने, ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकिएन, हाम्रो पनि कमजोरी रह्यो, उदारता देखाउनु कमजोरी भयो, सुरुदेखि नै दृढतापूर्वक संघर्ष नगरेकोमा म आत्मालोचित छु । अब त्यस्तो भूल गर्नेछैनौँ ।’
ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरे : माधव नेपाल (भिडियोसहित)
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ । उनले प्रधानमन्त्री केपी ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरेको जिकिर गरे । ओली हिटलरको बाटोमा हिँडेको बताउँदै नेपालले सच्याउन नसकेको भन्दै आत्मालोचना गरे ।
झलनाथ खनालको दाबी– केपी ओली पार्टीको भगौडा (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित विरोध सभामा खनालले प्रतिगमन गरेका कारण ओली पार्टीबाट भाग्नुपर्ने अवस्था बनेको बताए । क्रान्ति र प्रतिक्रान्तिको विभिन्न शृंखला हुँदै नेकपाले ७१ वर्ष पार गरेको स्मरण गर्दै खनालले ओली कम्युनिस्ट आन्दोलनभित्रको घातक तत्व रहेको दाबी गरे । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उनको भनाइ छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको बताउँदै खनालले नेकपा बलियो र सुदृढ पार्टी बन्ने बताए ।
ओलीसँग अब दुई मात्र शक्ति छन्, ‘साइबर स्याल’ र ‘सेटिङ’ : घनश्याम भुसाल
नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ बाँकी रहेको दाबी गरेका छन् । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको विरोध सभामा भुसालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने बताएका हुन् । उनले शुक्रबार नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । उनले भने, ‘अहिले भर्खर रत्नपार्कमा होसियार भाषण गरिरहेको सुनेँ, आठ–दश हजार मान्छे अगाडि देख्नुभएछ, भुइँमा खुट्टै थिएन ।’
भीम रावलको व्यंग्य– तस्करलाई वनमन्त्री बनाउँदा रूखहरू डराएका छन्
नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा मन्त्री पद बाँडेको आरोप लगाएका छन् । कैलाली क्षेत्र नम्बर ५ का कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै रावलले सुदूरपश्चिमलाई माया गरेर नभई पार्टी फुटाउन सुदूरपश्चिमबाट चार–चारजनालाई मन्त्री बनाएको बताए । ‘जुन वेला डडेल्धुरा र टीकापुरका दुई सिटबाहेक सारा जितेर पठायौँ, त्यसवेला उहाँलाई सुदूरपश्चिमको सम्झना भएन,’ प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जसमेत रहेका रावलले भने, ‘अहिले पार्टी फुटाउन मन्त्री पदलाई दुरुपयोग गरेर हतियार बनाइएको हो । मन्त्री दिने भए त सुरुमै दिनुपथ्र्यो ।’
गत १० पुसमा सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे प्रक्रिया अघि बढेको छ । अविश्वासको प्रस्ताव दर्ता गरेको एक महिनापछि बागमती प्रदेश सभामा पेस भएसँगै प्रक्रिया अघि बढेको हो । शुक्रबार बसेको प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रस्तावमा हस्ताक्षर गर्ने पहिलो सांसदको हैसियतले अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेस गर्न समय दिएका थिए । नेकपाका प्रचण्ड–माधव समूहका ४५ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्ताव सांसद नेपालले सभामा पेस गरेका हुन् ।
प्रदेशमा ओली पक्षसँग नमिल्न देउवालाई दबाब, प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाइयो
प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारको सत्तासमीकरणलाई लिएर कांग्रेसमा छलफल जारी छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बागमती प्रदेशको सत्तासमीकरणबारे त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । तर, कुन समूहसँग सत्तासाझेदारी गर्ने भन्ने अझै टुंगो लागेको छैन । शुक्रबार देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा केन्द्रीय समितिका पदाधिकारीसहित नेताहरू प्रकाशमान सिंह, गगन थापा, नवीन्द्रराज जोशीलगायत सहभागी थिए । सभापति देउवाले प्रदेशकै संसदीय दललाई निर्णय गर्ने अधिकार दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, पार्टीले एउटै धारणा बनाएर जानुपर्ने नेताहरूको अडानपछि प्रदेश संसदीय दलको नेतालाई काठमाडौं बोलाएर छलफल गर्नुपर्ने र त्यसपछि आवश्यक छलफल गरेर निर्णय लिने सहमति बनेको छ । त्यसबारे छलफल गर्न कांग्रेसको बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेटिङमा प्रतिनिधिसभा विघटन गरे : डा. भट्टराई
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङमा प्रतिनिधिसभा विघटन भएको बताएका छन् । ओलीको यो कदम संविधान र लोकतन्त्रमाथिको प्रहार भएको उनले आरोप लगाए । जनताको आन्दोलनको बलमा ओलीको गलत कदमलाई सच्चाउनुपर्नेमा जोड दिए । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैशाखमा चुनाव हुनै नसक्ने भन्दै राज्यका महत्वपूर्ण अंग नियन्त्रणमा लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सेटिङ गरेर ओलीले संसद् विघटन गरेको बताए ।
प्रधानमन्त्रीलाई सुरक्षाकर्मी थपिए, पूर्वगृहमन्त्रीले १० वर्षसम्म दुई प्रहरी पाउने
अवकाशपछि अब उच्च प्रहरी अधिकारीले सुरक्षा नपाउने भएका छन् । सरकारले हालै स्वीकृत गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ ले पूर्वप्रहरी अधिकारीले पाउँदै आएको सुरक्षा सुविधा कटौती गरेको हो । हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआइजी) वा त्यसभन्दा माथिल्लो पदबाट अवकाश पाएका सबैले आजीवन सुरक्षा लिँदै आएका छन् । अब अवकाशप्राप्त प्रहरी प्रमुखले मात्र यस्तो सुविधा पाउनेछन्, त्यो पनि चार वर्षसम्म मात्र । अवकाशप्राप्त प्रहरी प्रमुखलाई चार वर्षसम्म जुनियर अधिकृतको नेतृत्वमा पाँचजनाको सुरक्षा टोली दिइने कार्यविधिमा उल्लेख छ ।
सर्वाेच्चबाट मुद्दा छिनोफानो नहुँदै हुम्लामा मध्यावधि निर्वाचनको तयारी
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटमा सुनुवाइ सकिएको छैन । संसद् ब्युँतिन सक्ने धेरै आधार छन् । तर, हुम्लामा भने मध्यावधि निर्वाचनको चहलपहल सुरु भएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न गर्ने भनेपछि जिल्ला निर्वाचन कार्यालय हुम्लाले कार्यक्रम अघि बढाएको हो । जिल्लाका सात गाउँपालिका ४४ वटा वडापालिका रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन् । सरकारले वैशाख १७ र २७ गते निर्वाचन तोकेपछि जिल्ला निर्वाचन कार्यालयको सम्पन्न तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । माघ १६ गतेदेखि मतदाताको नामावलीको त्रुटि सच्याउने र दाबी विरोध हटाउने काम सुरु हुने निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।
काठमाडौंका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब
काठमाडौं महानगरपालिकाले २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार क्लब गठन गरेको छ । महानगरपालिका क्षेत्रभित्रका २५ वटा विद्यालय छनाेट गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा कार्यक्रमका लागि २५ वटा विद्यालयसँग सम्झौता भएको छ । विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमूलक सिकाइको प्रवर्द्धन गर्नेलगायतका उद्दश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई एक–एक लाख रुपैयाँ अनुदान दिएको छ ।
केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गर्नेछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले केही महिनाभित्रै कोभिड– १९ लाई पराजित गरिने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ छ । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा उनले कोभिड– १९ लाई पराजित गर्ने बिन्दुमा नेपाल पुगेको, तर अझै केही समय सतर्कता र सावधानी अपनाउन आग्रह गरे । भारतबाट ल्याइएको १० लाख खोप चार लाख ३० हजारलाई लगाइने र त्यो अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
सशस्त्र प्रहरीमा कल्याणकारी सुविधा थपिए
सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीका लागि कल्याणकारी सुविधा थप गरेको छ । २०औँ स्थापना दिवसको अवसरमा सुविधा थप गरिएको हो । कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी यस्तो सहुलियत कर्जा उपलब्ध गराउन लागिएको छ । कल्याणकारी सेवा केन्द्रमार्फत यस्तो कर्जा उपलब्ध हुनेछ । प्राकृतिक प्रकोपबाट कर्मचारीको वासस्थान पूर्ण रूपमा क्षति भएमा कर्मचारीले ५० हजार रुपैयाँ राहत पाउनेछन् । त्यस्तै नगद ऋणको कोटालाई मासिक दुई सय ५० जनाबाट दुई सय ७५ पु¥याइएको छ । दुईपांग्रे सवारीसाधन खरिदका लागि दिइने कर्जाको ब्याजदर घटाइएको छ । यसअघि ७.७५ प्रतिशत ब्याज लिने गरिएकोमा घटाएर ६ प्रतिशत बनाइएको छ ।