प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलनको घोषणा

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरू घोषणा गरेको हो । 

अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरूमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ । पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिटी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रूपमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए । 

त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाढा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियुले शैक्षिक संघर्षका कार्यक्रमहरू पनि घोषणा गरेको छ । संघीय संसदबाट सर्वसम्मत रूपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने सहसंयोजक तामाङले बताए । 

उनले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योल तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड– १९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताए । 


सहसंयोजक तामाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने चेतावनी दिए । माघ १ गते तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ । 

सुझावित समाचार