नेकपाको परकम्प : बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण
नेकपाको परकम्प : बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

मन्त्रीबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै शालिकराम जमकट्टेल

मुख्यमन्त्रीमा अष्टलक्ष्मीको नाम प्रस्ताव, नयाँ सरकार गठनमा कांग्रेस निर्णायक

सत्तारुढ नेकपा विभाजनको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । पौडेल प्रधानमन्त्री केपी ओली पक्षका हुन् ।

नयाँ सरकार गठनमा प्रमुख प्रतिपक्षी कांग्रेस निर्णायक छ । तर, अहिलेसम्म नेकपाका दुवै खेमाले कांग्रेससँग औपचारिक छलफल गरेका छैनन् । मुख्यमन्त्री पौडेलले भने अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । 

प्रदेश सभामा नेकपाका ८० सांसद थिए, तर पार्टी विभाजनपछि दुवै खेमासँग बहुमत छैन । प्रचण्ड–नेपाल पक्षका ४६ र ओली पक्षका ३४ सांसद छन् । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । यस्तोमा नयाँ सरकार गठनका लागि २२ मत रहेको प्रमुख प्रतिपक्ष कांग्रेस निर्णायक हुन्छ । 

प्रदेश सभामा विवेकशील साझा पार्टीका तीन, राप्रपा र नेपाल मजदुर किसान पार्टीका दुई–दुई तथा एक स्वतन्त्र सांसद छन् । तर, उनीहरूको सहयोगले मात्रै नयाँ सरकार गठन हुने अवस्था छैन । 

कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले उपयुक्त समयमा निर्णय लिने बताए । ‘संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल जहिल्यै सरकारमा जाने अवसर कुरिरहेको हुन्छ । बागमती प्रदेशको सवालमा कांग्रेस सरकारमा जाँदै नजाने भन्ने होइन, तर अहिले नेकपाको आन्तरिक द्वन्द्वभित्र हामी छिर्न चाहँदैनौँ,’ उनले भने, ‘तर, प्रदेश संसद्को रक्षाका लागि उपयुक्त समयमा उपयुक्त निर्णय हुनेछ । सरकारको समीकरणका लागि कांग्रेस आत्तिएर अघि बढ्दैन र हामी अनिर्णयको बन्दी बनाएर पनि राख्दैनौँ ।’

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । उनी प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बागमती प्रदेश इन्चार्ज पनि हुन् । शाक्यलाई बहुमत पुर्याउन १० सांसद आवश्यक पर्छन्, कांग्रेसको समर्थनविना त्यो सम्भव छैन । त्यस्तै, मुख्यमन्त्री पौडेललाई पद जोगाउन २२ सांसद अपुग छन् । उनले पनि कांग्रेसको साथ लिनसके मात्रै बहुमत पुर्याउन सक्छन् । निर्णायक मतको फाइदा उठाउँदै कांग्रेसले सरकारको नेतृत्व लिने सम्भावना पनि उत्तिकै छ ।

मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्ताव सामना गर्न आफू तयार रहेको बताए । ‘मविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी पाएँ, प्रदेश सभामा सामना गर्न तयार छु,’ उनले भने । संसदीय अभ्यासमा यस्तो भइरहने भन्दै आफूले त्यसलाई स्वाभाविक रूपमा लिएको उनले बताए । ‘त्यसैले यस्ता कुराहरूबाट मलाई चिन्ता पनि लागेको छैन र आपत्ति पनि छैन, आरामसँग सामना गर्नेछु,’ उनले भने । सबै प्रक्रिया कानुन र संविधानअनुसार हुनुपर्ने उनले बताए । 

मुख्यमन्त्रीका लागि प्रस्तावित शाक्यले पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्धको आन्दोलनकै हिस्सा भएको बताइन् । अब, अरू प्रदेशमा पनि अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने उनको भनाइ छ । 

पौडेलकै मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री रहेका शालिकराम जमकट्टेल नेतृत्वको टोलीले दिउँसो साढे ११ बजे ४५ सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रचण्ड–नेपाल खेमामै रहेकी उपसभामुख राधिका तामाङले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् । 

शाक्यको प्रस्तावकमा जमकट्टेल र समर्थकमा पौडेलकै मन्त्रिपरिषद्मा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रहेका अरुण नेपाल रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनुअघि जमकट्टेल र नेपालसँगै सामाजिक विकासमन्त्री युवराज दुलालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पौडेल जनताका माग र सरोकारमा संवेदनशील र गम्भीर नभएको जिकिर अविश्वासको प्रस्तावमा गरिएको छ । ‘धेरै लामो समयपश्चात् आमनिर्वाचनबाट बहुमत प्राप्त प्रदेश सरकारलाई देश र जनताको सर्वोपरी हितमा सदुपयोग गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्ने समयको आवश्यकता र जनताको मागअनुसार मुख्यमन्त्री पौडेल संवेदनशील र गम्भीर देखिएन,’ प्रस्तावमा उल्लेख छ । 

सुझावित समाचार