बुधबार दिनभरका मुख्य खबर

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री (भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीले समाजको चेतनास्तर, मूल्य र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानुनहरू परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् । रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानुन र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए । 

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चुनिए (भिडियोसहित)

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् । यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् । वैठकमा १ सय १५ संसदमा नेकपाकाे तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरु सहभागि भएकाे प्रचण्डले दावी गरे । प्रचण्डलाई संसदीय दलकाे नेता चयन गरेसँगै वैठक सकिएकाे छ । 

प्रचण्ड–नेपाल समूहको दर्ता नम्बर ५५५ (भिडियोसहित)

नेकपाको प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यसहित गरेको निर्णयबारे जानकारी उपलब्ध गराएको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । आयोगमा यस पत्रको दर्ता नम्बर ५५५ रहेको स्रोतले जनाएको छ । पत्रमा अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपालाई नियुक्ति गरिएको विषय उल्लेख छ । 

सभामुख भन्छन्– संविधानको रक्षार्थ पुनः एकपटक दलहरूबीच उच्चस्तरीय  समझदारी आवश्यक 

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलहरूबीच उच्चस्तरीय  समझदारीको आवश्यकता अझ बढेर गएको बताएका छन् । बुधबार प्रेस वक्तव्य जारी गर्दै उनले संवैधानिक सर्वोच्चताका लागि संघीय संसदका सदस्यहरू, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने वेला आएकोसमेत बताएका छन् ।

संसद् विघटनविरुद्ध परेका सबै रिटकाे सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको एकल इजलासमा 

संसद् विघटनविरुद्ध परेका सबै रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा परेको छ। संसद् विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैँले हेर्न लागेका हुन्। प्रधानमन्त्री केपी ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन्।

सरकारविरुद्ध कांग्रेसको विरोध कहिले ? केन्द्रीय समिति बैठकमा नेताहरूको चर्काचर्की

सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसकै आह्वानमा सोमबार बसेको कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीबीचको सहमति थियो–मंगलबार तीनवटै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र आन्दोलनको कार्यक्रम बनाउने । संविधानमाथि फरक मत राखेर संशोधनको माग राख्दै आएको जनता समाजवादी पार्टीले मंगलबारै पाँचदिने आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन थालिसकेको छ । तर, आफूलाई संविधानको जननी दाबी गर्ने कांग्रेस भने संविधानमाथि गम्भीर आक्रमण भएको ठहर गरेर विरोध गर्ने कि नगर्ने भन्ने विवादमा फसेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने कि नगर्ने ? कहिले गर्ने ? भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकमा बुधबार नेताहरूबीच चर्काचर्की भएको छ । 

सडक संघर्षका लागि अदालतलाई नकुरौँ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमको विरोधका लागि अदालतलाई कुर्न नहुने धारणा राखेका छन् । ‘सरकारको कदम असंवैधानिक हो भनेर पहिल्यै भनिएकै हो, यो कदमबाट सरकार सच्चिनुपर्छ, प्रतिनिधिसभा ब्युँताइनुपर्छ,’ उनले भने, ‘तर, त्यो कदम असंवैधानिक भनिसकेपछि विरोधका लागि अदालतले के भन्छ ? निर्वाचन आयोगले के भन्छ ? भनेर पर्खिने हाेइन, सडक संघर्षमा जाने हो ।’ पार्टीको जारी केन्द्रीय समितिको बैठकमा बुधबार थापाले कांग्रेस चुनावमा जाने वा नजाने भन्ने छलफलको विषय नै नभएको टिप्पणी गरे । ‘एउटा राजनीतिक दल भएपछि चुनावमा जान सधैँ तयार हुनुपर्छ, त्यसमाथि प्रतिपक्षी भएको हिसाबले चुनावमा नजाने भन्ने कुरै होइन, तर चुनावमा जाऔँ भन्ने नाममा जनताको अभिमतको अपमान गर्ने केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग मिल्नुपर्ने कुनै कारण छैन, उनको संवैधानिक अपराधलाई जोगाउनुपर्ने कुनै कारण छैन,’ थापाले भने । 

इजरायलमा संसद् विघटन, दुई वर्षमा चौथोपटक निर्वाचन हुँदै

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले  संसद् विघटन गरेको छ । संसद्ले समयसीमामा बजेट पारित गर्न नसकेपछि  संसद् भंग गरिएको हो । मंगलबार संसद् भंग भएपछि देशमा दुई वर्षभित्र चौथोपटक चुनाव हुने भएको छ ।  सम्भवतः अर्को वर्ष सन् ०२१ को २३ मार्चमा चुनाव हुने सिएनएनले जानकारी दिएको छ । नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वकाे गठबन्धनले सन् ०२० को बजेट स्वीकृत गर्न मध्यरातको म्याद गुमाएपछि संसद्को स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरूले सरकारको पतनका लागि एक–अर्कालाई दोष दिएका छन् । कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावका लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ । नेतन्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लु एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् ०२० को बजेट पारित गर्न मध्यरातसम्म प्रयास गरे पनि सफल हुन सकेको थिएन । 

ह्वाइटहाउस छाडेपछि ट्रम्पको योजना : निर्वाचनमा संकलित रकम व्यवस्थापन गर्नेदेखि श्रीमती फकाउनेसम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अब एक महिना पनि छैन । आगामी २० जनवरी २०२१ मा ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्नेछन् । त्यसपछि ट्रम्प विश्वकै शक्तिशाली प्रशासनिक भवन ह्वाइटहाउसबाट बाहिरिनेछन् । हाल उनको परिवार वासिङ्टनस्थित राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा छ । ह्वाइटहाउसबाट बर्हिगमन भएपछि ट्रम्प के गर्छन् भन्ने प्रश्न आमनागरिकमा उब्जिरहेको छ । यद्यपि, ट्रम्पले यसबारेमा केही पनि सूचना सार्वजनिक गरेका छैनन् । हुन त ट्रम्प अझै चार वर्ष ह्वाइटहाउसमै बस्न चाहन्थे । ती चार वर्षमा के गर्ने भनेरसमेत ट्रम्पले योजना बनाइसकेका थिए । 

चर्को दबाबपछि चालक अनुमतिपत्रकाे ट्रायल खुलाउँदै विभाग  

प्रदेश सरकारको तीव्र दबाबपछि सरकारले चालक अनुमतिपत्र (ट्रायल) खुला गर्ने भएको  छ । यातायात व्यवस्था विभागले पुसको अन्तिमसम्ममा ट्रायल खुला गर्ने तयारी रहेको जनाएको छ । यसअघि विभाग र प्रदेशबीचको कुरा नमिल्दा अहिलेसम्म  रोकिएको थियो । प्रदेशबाट विभागलाई  खोल्नका लागि तारन्तार दबाब दिएपछि खोल्ने तयारीमा विभाग जुटेको हो । नभए विभागले जाडो महिनाभरि कोरोना भाइरसको जोखिम  रहेको भन्दै  अझै तीन महिना खुला नगर्ने तयारीमा  बसेको  थियो । कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा अब भने खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेको विभागका  सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

मेक्सिको, अफगानिस्तान र फिलिपिन्स पत्रकारका लागि यस वर्ष सबैभन्दा जोखिमपूर्ण स्थान : सिपिजे

न्युयोर्कस्थित कार्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) का अनुसार सन् २०२० मा विश्वभर कम्तीमा २१ जना पत्रकारले कामको सिलसिलामा ज्यान गुमाएका छन् । यसअघि सन् २०१९ मा यसरी नै ज्यान गुमाउने पत्रकार १० जना थिए । सिपिजेका अनुसार यस वर्ष मेक्सिको, अफगानिस्तान र फिलिपिन्स पत्रकारहरूका लागि सबैभन्दा जोखिमपूर्ण स्थल बने । यसमध्ये पनि मेक्सिकोमा पत्रकारहरूले सबैभन्दा धेरै जोखिम मोलेको बताइएको छ । यसपछि अफगानिस्तान र फिलिपिन्स रहेका छन् । कमिटीका अनुसार १५ डिसेम्बर २०२० सम्ममा विश्वभर कम्तीमा ३० जना पत्रकारको हत्या भएको छ । अघिल्लो वर्ष २६ जनाको हत्या भएको उल्लेख छ । यसमध्ये पत्रकारिता गरेकै कारण कम्तीमा २१ जनाको ज्यान गएको कमिटीको ठहर छ ।  

युवतीलाई लिफ्ट दिँदा ६ लाख लुटियो 

युवतीको प्रयोग गरी लुटपाट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । श्रेष्ठको समूहले गत ८ साउनमा सिन्धुली कमलामाई नगरपालिका– २ बस्ने भोलाबहादुर जर्घामगरलाई युवती प्रयोग गरी लुटेको थियो । भोला रत्नपार्कबाट कलंकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट  मागेकी थिइन् । आफू पनि कलंकी जाने भन्दै लिफ्ट मागेपछि मोटरसाइकलमा राखेको र आफूलाई चोभारसम्म पुऱ्याउन उनले आग्रह गरेकी थिइन् । सोहीअनुसार उनले चोभार लगिदिए । ...

फिलिपिन्समा लकडाउनको असर : बढ्दो गरिबी र अनिच्छुक गर्भाधान 

रोभेली जाबाला फेरि गर्भवती छिन् । उनको यो १०औँ सन्तान हुनेछ । आफ्नो नौवटै सन्तान सँगै छन् । ‘कार्ल, जेबेल, ज्वेस...’ रोभेली नानीहरूको नाम बताउँछिन् । आमाले नाम बिगारेपछि नजिकै रहेका ६ वर्षका छोराले अचम्म मात्रै हेर्छन् । छोरालाई हेर्दै रोभेली भन्छिन्, ‘माफ गर्नुहोस्, उसको नामचाहिँ चार्ली हो ।’ रोभेलीले परिवार नियोजनको साधनबारे थाहा पाउँदा नै उनको सातजना सन्तान भइसकेका थिए । पछिल्लो अर्थात् हुनेवाला दशौँ सन्तान भने कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसपछि जारी लकडाउनको नतिजा हो । 

सुझावित समाचार