स्थानीयको अवरोधले पाँच करोडको सिँचाइ आयोजना अलपत्र

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण
स्थानीयको अवरोधले पाँच करोडको सिँचाइ आयोजना अलपत्र

गुमुखोला तोरीखेत सिँचाइ आयोजनाको मुहान क्षेत्र ।

स्थानीय बासिन्दाको अवरोधका कारण दोलखाको कालिञ्चोक गाउँपालिकामा निर्माण हुन लागेको गुमुखोला तोरीखेत सिँचाइ आयोजना दुई वर्षदेखि अलपत्र परेको छ । आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सिँचाइ आयोजना स्थानीय बासिन्दाबीच सहमति नहुँदा सुरु हुन सकेको छैन । कालिञ्चोक गाउँपालिका–६ को पाटागाउँ, तल्लो लेप्टुङसहित कालिञ्चोक–७ को झमार्सी, तोरीखेतलगायतका ठाउँमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो । आयोजना मुहान क्षेत्र र आसपासका बासिन्दाबीच सहमति नजुटेपछि काम हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका इन्जिनियर नेत्रप्रसाद पौडेलले बताए । यसको लम्बाइ सात किलोमिटर एक सय मिटर रहेको छ । यसको एक हजार ६ सय मिटर क्षेत्रमा पाइप र बाँकी भागमा आरसिसी क्यानलको डिजाइन रहेको इन्जिनियर पौडेलले बताए । 

यो आयोजना निर्माणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाले दुई वर्षअघि वाइबा एन्ड लामा कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । कार्यालयले कम्पनीसँग चार करोड ४१ लाख रुपैयाँमा काम सक्ने गरी सम्झौता गरेको थियो भने झन्डै ५० लाख रुपैयाँ उपभोक्ता समितिमार्फत गर्ने प्रक्रिया अघि बढाएको थियो । तर, सम्पन्न गर्ने मिति नजिकिँदा पनि निर्माण सुरु हुन सकेको छैन । 

मुहान क्षेत्रका बासिन्दाले आयोजना निर्माण गर्दा आफ्नो जग्गाको मुआब्जा पाउनुपर्ने माग गरेका छन् । सिँचाइ कार्यालयले मुआब्जा दिने व्यवस्था नै नभएको जनाएको छ । सिँचाइ विकास कार्यालयका प्रमुख इन्जिनियर मनीष महर्जनले साना आयोजनामा जग्गाको मुआब्जा दिने कानुनी व्यवस्था नभएकाले जग्गाधनीहरूलाई मुआब्जा दिन नसकिने बताए । आयोजना निर्माण गर्दा जग्गाधनीहरूलाई समेत सिँचाइ सुविधा हुने भएकाले तत्काल सहमति जुटाएर योजना निर्माणको बाटो खुला गर्न उनले अनुरोध गरेका छन् । 

उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर खड्काले मुहान क्षेत्रका जग्गाधनीको अवरोधका कारण काम सुरु हुन नसकेको बताए । उनीहरूको मुख्य माग मुआब्जा पाउनुपर्ने नै रहेको उनको भनाइ छ । उनी कालिञ्चोक–७ का वडाध्यक्ष भए पनि उपभोक्ता समितिका अध्यक्ष पनि बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा निर्वाचित जनप्रतिनिधि कुनै पनि विकास आयोजनाको उपभोक्ता समितिको अध्यक्ष वा पदाधिकारी बस्न नमिल्ने व्यवस्था छ । स्थानीय बासिन्दाले दबाब दिएकाले आफू अध्यक्ष बनेको उनको भनाइ छ । 

आयोजनाको मुहान क्षेत्र कालिञ्चोक–६ का बासिन्दाले मुआब्जा पाउनुपर्ने माग गरेका छन् । मुआब्जा दिनुको सट्टा दुव्र्यवहार गरिएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ । मुआब्जा माग्न जाँदा आयोजना र निर्माण कम्पनीले उल्टै प्रशासन लगाएर आफूहरूलाई दुव्र्यवहार गरेको उनीहरूको गुनासो छ । काममा अवरोध गरेको भन्दै गत वर्ष निर्माण कम्पनीले प्रशासनमा उजुरी दिएको थियो । त्यसका आधारमा स्थानीय युवा इन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि स्थानीय बासिन्दा झन् विरोधमा उत्रिएका छन् । 

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले विवाद समाधानको उपाय खोज्न र निकास निकाल्न प्रयत्न भइरहेको बताए । यसबारे पटक–पटक दुवै पक्षबीच छलफल भए पनि सहमति जुट्न नसकेको बताए । 

दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आयोजना निर्माणमा दुई पक्षबीच सहमतिको विकल्प नरहेको भन्दै समन्वयको वातावरण बनाउन आफू लागिपर्ने बताए । स्थानीयको माग र आयोजनाको प्रकृति बेग्लै भएकाले मुआब्जा दिन नसकिने भए पनि छलफलबाटै निकास निकाल्न मातहतका कार्यालय र स्थानीय जनप्रतिनिधिहरूबीच बैठक राख्ने तयारी गरिएको बताए । 

सुझावित समाचार