अस्पताल नभएका स्थानीय तहमा दुई वर्षभित्र निर्माण सक्ने गरी सरकारले गत सोमबार तीन सय ९६ आधारभूत अस्पताल शिलान्यास गर्ने बताएको थियो । तर, स्थानीय तहमै देखिएको विवादका कारण ९० अस्पतालको शिलान्यास हुन सकेन । शिलान्यास गरिएका तीन सय ६ मध्ये पनि सम्भाव्यता अध्ययन गरिएका एक सय २२ अस्पतालको मात्रै निर्माण प्रक्रिया अघि बढेको छ ।
कतिपय ठाउँमा शिलान्यास कसले गर्ने भन्ने जनप्रतिनिधिबीच विवादका कारण पनि शिलान्यास रोकिएको छ । २२ ठाउँको विवाद मिलाउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई पत्राचार नै गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले विवादका कारण रोकिएका ठाउँमा पनि चाँडै शिलान्यास गरिने बताए । ‘९० ठाउँमा विभिन्न कारणले विवाद भएपछि शिलान्यास रोकिएको छ । ती ठाउँमा पनि चाँडै सहमति हुन्छ र शिलान्यास गरिन्छ,’ उनले भने ।
नेकपा स्थायी कमिटी बैठक : दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटीलाई एक साता समय
नेकपाको आज बसेको स्थायी कमिटी बैठकले पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन एक साता लगाएर अध्यन गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकका सदस्यहरूलाई दुवै अध्यक्षले राखेको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको हो । बैठकमा अध्यक्ष केपी ओलीले सहभागिता नजनाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेर बैठक अघि बढाएका थिए ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को गत १५ मंसिरमा बसेको बैठकले प्राधिकरणको म्याद ०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
१० शिक्षकलाई काेठाभित्रै थुनेर विद्यार्थीले लगाए ताला
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकलाई काेठाभित्रै थुनेर ताला लगाएका छन् । विद्यालयमा नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएले विद्यार्थीले आइतबार बिहान तालाबन्दी गरेको विद्यार्थी उपेन्द्र पण्डितले बताए । विद्यार्थीहरूले आफ्ना माग राख्दै कसैलाई जानकारी नगराईकन एकाएक तालाबन्दी गरेको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए ।
राष्ट्रपति भण्डारीले जारी गरिन् दुई अध्यादेश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेकी छिन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।
अमेरिकामा फेरि बढ्यो संक्रमण : एकै दिन दुई लाख ३० हजार संक्रमित
अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ३० हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघिका दुई दिन पनि दिनहुँ दुई लाखभन्दा बढी संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विज्ञहरू भन्छन्- एन्टिजिन परीक्षण पिसिआरको विकल्प हुन सक्दैन
एन्टिजिन परीक्षणलाई पिसिआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पिसिआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पिसिआरले भाइरसभित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता हुने भएकोले यसबाट फल्स रिपोर्टसमेत आउने भएकाले यसलाई पिसिआरको विकल्पमा लिन नहुने बताए ।
भारतको महाराष्ट्रमा मात्रै कोरोना संक्रमणबाट हालसम्म साढे ४७ हजारभन्दा बढीको निधन
भारतमा शनिबार ३६ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार दुई सय २२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । जसमध्ये ९१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार चार लाख तीन हजार दुई सय ४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको लगातार २८औँ दिन हो ।
कोरोना संक्रमणबाट निधन हुने गैरआवासीय नेपालीको संख्या तीन सय नाघ्याे
कोरोना संक्रमणबाट निधन हुने विदेशमा रहेका गैरआवासीय नेपालीको संख्या तीन सय नाघेको छ । हालसम्म विश्वका विभिन्न २० मुलुकमा रहेको तीन सय एक गैरआवासीय नेपालीको निधन कोरोना संक्रमणबाट भएको हो । पछिल्लो यस साता थप दुईजना कोरोना संक्रमित गैरआवासीय नेपालीको निधन भएसँगै यो संख्या तीन सय नाघेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
बेलायतमा कसले पाउँदै छन् सुरुमा कोभिड– १९ विरुद्धको भ्याक्सिन
बेलायत सरकारले आगामी मंगलबारदेखि कोभिडविरुद्धको भ्याक्सिन फाइजर लगाउने गरी सम्पूर्ण तयारी पूरा गरेको छ । विश्वमा नै पहिलोपटक बेलायतले कोभिड–१९ विरुद्धको भ्याक्सिन आपतकालीन अवस्थामा लगाउने गरी अनुमति दिएको थियो । सोहीअनुसार भ्याक्सिन उत्पादकसँग बेलायत सरकारले चार करोड डोज भ्याक्सिन ल्याउने गरी सम्झौता पनि गरेको छ । यो भ्याक्सिन बेलायतका दुई करोड मानिसलाई दिन पुग्छ । बेलायतमा करिब सात करोड मानिस छन् ।