- अपारदर्शी गतिविधि बन्द गर्नुपर्छ, भेट पारदर्शी हुनुपर्छ : सांसदहरू
- अपारदर्शी होइन, बरु कति खोज्छौँ, कति सम्भव हुन्छ, त्यो बेग्लै हो : परराष्ट्रमन्त्री
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखको डेढ महिनाअगाडिको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको गोप्य भेटघाटको विषयले संसदीय समितिमा प्रवेश पाएको छ । शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘रअ’ प्रमुख सामन्त गोयलको भेटलाई लिएर सांसदहरूले सरकारको नियत र नीतिमाथि गम्भीर प्रश्न उठाएका छन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गोयल ‘रअ’ प्रमुखको हैसियतमा नभई प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा आएको बताएका छन् । ‘रअ’का प्रमुखको ५ कात्तिकको भ्रमणबारे संसदीय समितिमा पहिलोपटक चर्चा भएको हो ।
नेकपा सांसद भीम रावलले गोयल र प्रधानमन्त्रीको भेट अपारदर्शी ढंगले भएको बताएका थिए । ‘एउटा देशको गुप्तचर प्रमुख सैनिक जहाजमा चढेर आए । भ्रमणअगाडि भारतको प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले नोट जारी गरेनन् । नेपाल सरकारले पनि कुनै जानकारी गराएन । आफ्नै निवासमा प्रधानमन्त्रीले अर्काे देशको गुप्तचरसँग भेट गरे । नेपालजस्तो संवेदनशील मुलुकमा यो धेरै नराम्रो भयो । यसले स्वयं प्रधानमन्त्रीको मर्यादा पनि बढाउँदैन, देशको मर्यादा पनि बढाउँदैन,’ सांसद रावलले भने, ‘अझ यसमा चाखलाग्दो के छ भने वार्ता गर्दा पनि पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री (माधव नेपाललाई देखाउँदै)लाई जानकारी छैन, सरकार चलाउने राजनीतिक दललाई जानकारी दिएको मलाई जानकारी छैन । यस्तो किसिमको अपारदर्शी गतिविधि बन्द गर्नुपर्छ ।’
कांग्रेस सांसद प्रकाशमान सिंहले पनि ‘रअ’का प्रमुखसँगको भेट पारदर्शी नभएको भन्दै आपत्ति जनाए । उनले भने, ‘भारतीय गुप्तचर संस्थाका प्रमुखसँगको भेटबारे धेरै प्रश्न उठे । त्यसमा के भएको भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । यस्ता भेट पारदर्शी हुनुपर्छ ।’
तर, परराष्ट्रमन्त्री ज्ञवालीले भने यो विषय अगाडि बढिसकेको र थुप्रै नतिजासमेत ल्याइसकेकाले यसमा धेरै बहस गर्न आवश्यक नरहेको बताए । ‘सामन्त गोयलको भ्रमणको विषय धेरै अगाडि बढिसक्यो, थुप्रै ‘रिजल्ट’ पनि ल्याइसक्यो । हामी पुरानै कुरामा ‘स्टक’ भएर बसिरहेका छौँ,’ मन्त्री ज्ञवालीले भने, ‘म अनुरोध गर्न चाहन्छु– उहाँ ‘रअ’ प्रमुखको रूपमा नेपाल भ्रमणमा आउनुभएको होइन, भारतीय प्रधानमन्त्रीको शिष्टाचार सन्देश लिएर आउनुभएको हो । कूटनीतिमा यस्ता खालको सम्बन्ध र यस्ता माध्यम प्रयोग हुन्छन् कि हुन्नन् ?’
मन्त्री ज्ञवालीले विगतमा पनि आफूहरूले यस्ता अभ्यास गरेको सुनाए । ‘सम्बन्धमा अलि समस्या आइरहेका वेला कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक त कहिले सांस्कृतिक मान्छेहरू प्रयोग हुन्छन्, सिभिल सोसाइटी पनि प्रयोग हुन्छन् । नेपालकै कुरा गरौँ न, नाकाबन्दी भएको वेला हामीले राजेन्द्र क्षेत्रीजीलाई पठाएका होइनौँ र, तत्कालीन प्रधानसेनापतिलाई ? या, पछि हिमालय थापा जानुभएको होइन र ?’ उनले भने, ‘सन्देश सम्प्रेषणका लागि विभिन्न माध्यम प्रयोग गरिन्छ । त्यसकारण यसलाई ठूलो विषय बनाउनुपर्छ जस्तो लाग्दैन । अपारदर्शी होइन । प्रधानमन्त्रीको प्रेस एड्भाइजरले भेट भो, कुराकानी भयो, यो–यो विषयमा कुराकानी भयो भनेर भन्नुभएको छ । त्योभन्दा पारदर्शी त अब हामीले कति खोज्छौँ ! कति सम्भव हुन्छ ! त्यो बेग्लै कुरा हो ।’
केही दिनअघि भारतका विदेशसचिव हर्षबर्धन शृंगलाको नेपाल भ्रमणलाई लिएर परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारतबीच औपचारिक संवादको ढोका खुलेको दाबी गरे । समस्या समाधान गर्ने र सम्बन्ध बलियो राख्ने बाटोमा सम्बन्ध अघि बढेको आफ्नो विश्वास रहेको उनले बताए । भारतले नक्सा जारी गरेपछि दुई देशको सम्बन्ध असहज भए पनि अहिले औपचारिक संवाद सुरु भएको उनको भनाइ थियो । ‘भारतले नक्सा प्रकाशन गरेपछि असहज अवस्था थियो । त्यसपछि औपचारिक संवादका रूपमा यो भ्रमणले भूमिका खेलेको छ । यो धेरै महत्वपूर्ण हो । धेरै लामो समयसम्म औपचारिक संवादहीनता रहनु उचित हुँदैन । सम्बन्ध जुन बहुआयामिक छ, त्यसका लागि पनि संवाद गर्नै पथ्र्याे । यसले औपचारिक संवादको ढोका खोलेको छ,’ मन्त्री ज्ञवालीले भने ।
वार्तामार्फत सीमा समस्याको औपचारिक एजेन्डासमेत बनाइएको ज्ञवालीले समितिलाई जानकारी दिए । दुई देश अब कुन रूपमा अघि बढ्ने भन्नेबारे पनि भेटवार्तामा छलफल भएको उनको भनाइ थियो । समस्या अल्झाइराखेर सम्बन्ध बलियो नहुने उनको भनाइ छ ।
बैठकमा चीनसँगको सीमाका विषयमा पनि प्रश्न उठेका थिए । कांग्रेस सांसद सिंहले चीनसँग नेपालको सीमा समस्या भए पनि सरकारले वास्ता नगरेको आरोप लगाए । तर, परराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको बताएका थिए । ‘भारतसँग मात्रै होइन, अर्काे छिमेकी राष्ट्र चीनसँग पनि सिमानामा विवाद भएको छ । तर, परराष्ट्रमन्त्रीले समितिमा ब्रिफिङ गर्दा ओभरलुक गरेको हो कि के हो ? हुम्ला जिल्लामा भएको, त्यही प्रदेशको कांग्रेस नेताले निरीक्षण गरेर जुन रिपोर्ट दिइएको छ, त्यसलाई ओभरलुक गर्न कतिको उचित हुन्छ ? परराष्ट्रमन्त्रीले यसलाई सिरियस्ली हेर्नुपर्यो,’ सिंहले भने, ‘त्यहाँ प्रतिनिधित्व गर्ने सांसदले, प्रमुख प्रतिपक्ष दलको नेताले सिमानामा अतिक्रमण भएको छ भन्ने कुरा रिपोर्ट पेस गरेको छ । परराष्ट्र मन्त्रालयबाट चाहिँ केही भएको छैन भनेर हतारहतार विज्ञप्ति आउँछ । हतारहतारमा किन गर्नुपरेको हो ? योचाहिँ अलि नमिलेजस्तो भयो । भारतसँग मात्रै होइन, चीनसँग पनि त्यत्तिकै सेन्सेटिभ्ली हेर्नुपर्छ ।’
नेपाल र चीनबीच सीमा समस्या नभएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो । ‘नेपाल र चीनबीच सीमा पहिचान गर्न सजिलो छ, हामीले प्रोटोकलमा हस्ताक्षर गरेका छौँ । प्रोटोकलमा डिटेल छ । जिरो पिलर बनेको छैन, टुंग्याउन सकेका छैनौँ । १ नम्बर पिलरबाट सुरु हुन्छ । त्यहाँबाट सुरु भएर यो डाँडो यति हजार मिटरको, यति हजार मिटरको ऊ डाँडो, यो नदीको किनार हुँदैहुँदै पिलर नम्बर २ फलानो डाँडोमा गएर मिसिन्छ ।
त्यस्तै, २ नम्बरबाट यो दक्षिण–दक्षिण हुँदै या उत्तर–उत्तर हुँदै यति मिटर उचाइ हुँदै पल्लोमा मिसिन्छ । यसरी डिटेल १ देखि ९७ सम्मका जति पनि हाम्रा सीमा मार्करहरू छन्, त्यसको डिटेल प्रोटोकलमा हस्ताक्षर छ,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले सिडिओ, जिल्लाको नापी विभागसहितको टिम पठायौँ । उहाँहरूले हेर्नुभयो, जिपिएस लोकेसन दिनुभयो । र, त्यसपछि अर्काे ठाउँमा गएर कुराकानी गर्नुभयो । र, त्यसपछि त्यही ठाउँबाट हामीलाई सम्पर्क गर्नुभयो । सम्पर्क गरिसकेपछि परराष्ट्र मन्त्रालयले स्पष्ट पार्यो । बीचमा एउटा ५७ नम्बर मार्कर भेटिएन भन्ने थियो, अहिले त्यो पनि भेटिएको छ । जम्मा तीन ठाउँमा हो, नेपाल–चीन सीमाका सम्बन्धमा आएका कुराहरू । एउटा, जिरो नम्बर पिलर, त्यो त्रिदेशीय बिन्दु क्लियर भइसकेपछि हुने हो । दोस्रोचाहिँ, ५७ नम्बर पिलर हो । तेस्रो, सगरमाथाको हाइट जुन ज्वाइन्ट्ली म्यापिङमा स्केलिङ भएको छ । र, सम्भवतः यो हप्तामै हामी त्यसको सार्वजनिक गर्दै छौँ । त्यसकारण चीनसँग अहिलेचाहिँ सीमा समस्या नरहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’ समितिले नेपाल–भारतबीच आगामी दिनमा हुने मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रस्तुत गर्नुपर्ने कुराबारे निर्देशन तथा सुझाब दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘सन्देश सम्प्रेषणका लागि विभिन्न माध्यम प्रयोग गरिन्छ’

सामन्त गोयलको भ्रमणको विषय धेरै अगाडि बढिसक्यो, थुप्रै ‘रिजल्ट’ पनि ल्याइसक्यो । हामी पुरानै कुरामा ‘स्टक’ भएर बसिरहेका छौँ । म अनुरोध गर्न चाहन्छु– उहाँ ‘रअ’ प्रमुखको रूपमा नेपाल भ्रमणमा आउनुभएको होइन, भारतीय प्रधानमन्त्रीको शिष्टाचार सन्देश लिएर आउनुभएको हो ।
कूटनीतिमा यस्ता खालको सम्बन्ध र यस्ता माध्यम प्रयोग हुन्छन् कि हुन्नन् ? सम्बन्धमा अलि समस्या आइरहेका वेला कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक त कहिले सांस्कृतिक मान्छेहरू प्रयोग हुन्छन्, सिभिल सोसाइटी पनि प्रयोग हुन्छन् ।
नेपालकै कुरा गरौँ न, नाकाबन्दी भएको वेला हामीले राजेन्द्र क्षेत्रीजीलाई पठाएका होइनौँ र, तत्कालीन प्रधानसेनापतिलाई ? या, पछि हिमालय थापा जानुभएको होइन र ? सन्देश सम्प्रेषणका लागि विभिन्न माध्यमहरू प्रयोग गरिन्छ ।
त्यसकारण यसलाई ठूलो विषय बनाउनुपर्छ जस्तो लाग्दैन । अपारदर्शी होइन । प्रधानमन्त्रीको प्रेस एड्भाइजरले भेट भो, कुराकानी भयो, यो–यो विषयमा कुराकानी भयो भनेर भन्नुभएको छ । त्योभन्दा पारदर्शी त अब हामीले कति खोज्छौँ ! कति सम्भव हुन्छ ! त्यो बेग्लै हो ।