त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले कोभिड– १९ को जोखिमकै बीचमा पनि सतर्कता अपनाएर प्रत्यक्ष (फिजिकल्ली) कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा फिजिकल्ली कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । फिजिकल्ली कक्षा सम्भव नभएको ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिने निर्णय भएको छ । 

कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए भने केही समयपछि अनलाइन कक्षा सुरु भएका थिए । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले स्थानीय निकायसँग समन्वय गरी कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर फिजिकल्ली कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए । कोभिडका कारण शैक्षिक संस्था बन्द भएपछि त्रिविले समेत अनलाइन कक्षा सञ्चालन गरेको थियो । 

अनलाइन कक्षामा माथिल्लो तहमा र प्राविधिक विषयमा विद्यार्थीको सहभागिता राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता एकदमै न्यून रहेको थियो । तल्लो तहमा अधिकांश विद्यार्थी के–कस्तो अवस्थामा छन् भन्नेसमेत पहिचान गर्न सकेको थिएन । 

‘अनलाइनबाट कक्षा सञ्चालन सम्भव नभएका ठाउँमा फिजिकल्ली कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ रेक्टर भुसालले भने, ‘धेरै जोखिम भएका र फिजिकल्ली सम्भव नभएका ठाउँमा अनलाइन कक्षा निरन्तर सञ्चालन हुन्छन् ।’ 

त्रिविले सम्भव भएसम्म फिजिकल्ली र नभए मात्र अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय छ । त्रिविमा लामो समयसम्म प्रत्यक्ष कक्षा नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित भएका थिए । परीक्षा सुचारु भएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागेको हो । 

धमाधम परीक्षा हुँदै
त्रिभुवन विश्वविद्यालयको आठ महिना अघिदेखि रोकिएका परीक्षा धमाधम सुरु हुन लागेका छन् । कोभिड महामारीकै बीचमा सुरक्षा सावधानी अपनाएर परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा लिन लागेका हुन् । कोरोना संक्रमित केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्था भएमा छुट्टै बसेर लेख्ने र नसक्नेलाई प्रमाणको आधारमा पछि लिने व्यवस्थासमेत गरिएको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी २८ मंसिरदेखि वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्दै छ । २८ मंसिरबाट सुरु हुने स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायका चौथो वर्षको परीक्षार्थी कोही कोभिड संक्रमित भएमा र परीक्षा दिन सक्ने अवस्था भएमा छुट्टै राखेर परीक्षा लिन सक्ने व्यवस्था गरेको छ । कोरोना संक्रमित भए पनि परीक्षा दिन सक्नेहरूका लागि अरूभन्दा १५ मिनेटपछि केन्द्रमा प्रवेश गरी छुट्टै कोठामा बसेर परीक्षा दिन सक्ने व्यवस्था गरेको छ । 

पनिकाको परीक्षा केन्द्र भएमा त्यहाँबाट आवेदन भरेका जुनसुकै संकायका विद्यार्थीले पनि परीक्षा दिन सक्ने व्यवस्था गरेको उनले बताए । गत १६ वैशाखदेखि हुने गरी तय भएर स्थगित भएको परीक्षा आठ महिनापछि हुन लागेको हो । त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायले थोरै विद्यार्थी भएका केही विषयको परीक्षा यसअघि पनि लिएको थियो । यसबीचमा अन्य केही विषयको समेत परीक्षा सञ्चालन भएको छ ।
 
यसपटकको परीक्षामा विद्यार्थीले घरपायकको केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थीलाई आवतजावत र कोभिडको संक्रमणको जोखिम कम गर्ने उद्देश्यले घरपायक केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । पनिकाले आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोटमा आवेदन दिने परीक्षार्थीबाहेक अन्य परीक्षार्थीले त्रिविबाट तोकिएको केन्द्रबाटै परीक्षा दिनुपर्ने जनाएको छ । मंसिर अन्तिम साताबाट हुन लागेको स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका परीक्षामा भने डिन कार्यालयअनुसार फरक व्यवस्था गरिएका छन् ।

सुझावित समाचार