एक वर्षमा एकै गाउँका २२ जनाले दुर्घटनामा ज्यान गुमाए

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण
एक वर्षमा एकै गाउँका २२ जनाले दुर्घटनामा ज्यान गुमाए

गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु.१ज ११६६ नम्बरको जिप शुक्रबार बिहानै इस्मा गाउँपालिका–४ दोहली हुलमा दुर्घटना

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु.१ज ११६६ नम्बरको जिप शुक्रबार बिहानै इस्मा गाउँपालिका–४ दोहली हुलमा दुर्घटना हुँदा दाजुभाइसहित ६ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । एक बर्ष नपुग्दै वडा नं ४ कै हुल र पैयाँपाटा गरेर २२ जनाले दुर्घटनामा ज्यान गुमाए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रवीणलाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा इस्मा गाउँपालिका– ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी, १९ वर्षका फर्शुराम थापा र मालिका गाउँपालिका– ५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका फर्शुरामको उपचारका लागि तम्घास लैजाने क्रममा मृत्यु भएको हो । 

मृतक शिव र वसन्त दाजुभाइ हुन । शिवकी पत्नी सरस्वती गम्भीर घाइते भएकी छिन् । उनी र अर्को घाइते जिपका सहचालक २५ वर्षीय कमल हितानको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । चालक २५ वर्षीय बुद्ध बस्नेत भने सकुशल छन् । मृत्यु भएका शिव र धनबहादुर सेनामा कार्यरत थिए ।

शिव हवल्दार र धनबहादुर लेस नायक हुन् । दुवैजना तिहार मनाएर ड्युटीमा फर्किंदै थिए । स्थानीय प्रेम दर्लामीले दुवैजनाले घरबाट हिँडेको केहीबेरमै दुर्घटनामा ज्यान गुमाएको बताए । बुबा शिवलाई हात हल्लाएर बिदा गरेको एकछिनमै दश वर्षीय करन टुहुरा बनेको उनले बताए ।

त्यस्तै, तिहार मान्न माइत आएकी मालिका– ५ की सुन्दरी थापा घर फर्किंदै थिइन् । सशस्त्र प्रहरीमा भर्ती हुने सपना बोकेर फर्शुराम थापा नवलपरासी हिँडेका थिए । दुर्घटना भएको एकछिनमै स्थानीय बासिन्दा घटना स्थल पुगेर उद्धारमा खटिएको स्थानीय तथा इस्मा गाउँपालिका ४ का वडा सदस्य भोलासिंह थापाले बताए  । ‘झिसमिसेमै दुर्घटना भएको थियो । हामी तत्कालै त्यहाँ पुग्यौँ, तर पाँचजनाको मृत्यु भइसकेको थियो,’ उनले भने । 

एक वर्ष नपुग्दै यो गाउँमा दुर्घटनाबाट २२ जनाको ज्यान गएको छ । गत वर्ष १७ मंसिरमा इस्मा गाउँपालिका– ४ बाट बाग्लुङ कुलपूजामा हिँडेको जिप भीमगिठेमा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका थिए । यसैबीच, दुर्घटनाको खबर पाएपछि पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी अस्पताल पुगेर घाइतेलाई भेटेका छन् ।

सुझावित समाचार