अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिमा कोरोनाको भ्याक्सिन लगाउने तयारी

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले डिसेम्बरको पहिलो साता फाइजरद्वारा निर्माण गरेको कोभिड– १९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइनेछ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी १० डिसेम्बरमा बस्ने बैठकले यसबारेमा निर्णय गर्नेछ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् । 

मंगलबार सार्वजनिक पछिल्लो तथ्यांकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या दुई लाख ६० हजार पुगिसकेको छ भने एक करोड २५ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्रै दुई हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ । 

अमेरिकी सरकारको ‘अपरेसन वार्प स्पिड’का प्रमुख अपरेसन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा खोपको चार करोड डोज उपलब्ध भइसक्ने बताए । यस तथ्यांकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ। गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाबारे छलफल भइरहेको पर्नाले बताए ।  

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ । 

पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसंख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जानकारी दिए ।  संघीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारे सिफारिसहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम र फ्रन्ट लाइनरहरू रहनेछन् । 
 

सुझावित समाचार