अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई ट्विटरले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर खाता पोटस (प्रेसिडेन्स अफ यूएस वा पिओटियुएस) हस्तान्तरण गर्ने भएको छ । ट्विटरले अमेरिकी राष्ट्रपतिको शपथ लिएलगत्तै खाता हस्तान्तरण गर्ने जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार नगरिरहेको वेलामा ट्विटरको यस्तो भनाइ आएको हो ।
ट्विटरका अनुसार खाता हस्तान्तरण गर्ने वेलामा राष्ट्रपति ट्रम्पको समूह र राष्ट्रपति निर्वाचित बाइडेनको समूहबीच सूचना आदान–प्रदानको आवश्यकता पर्दैन । कम्पनीका अनुसार यस खाताबाट भएका सबै ट्विट संग्रह गरिनेछ र शपथग्रहणका दिन कुनै पनि ट्विटविनाको खाता हस्तान्तरण गरिनेछ । ट्विटरका प्रवक्ता निक पेसिलियोले भनेका छन्, ‘ट्विटरले २० जनवरी २०२१ मा ह्वाइटहाउसलाई आधिकारिक रूपमा हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ ।’ राष्ट्रतिको जस्तै गरी उपराष्ट्रपतिको ट्विटर खाता पनि यसै गरी हस्तान्तरण गरिनेछ ।