सरकारको पछिल्लो मन्त्रिपरिषद्को निर्णयसँगै खेलाडीदेखि पदाधिकारी उत्साहित भएका छन्, खेलकुदको प्रमुख निकाय राखेपदेखि विभिन्न संघले खेल सुचारु गर्न आ–आफ्नो खाका बनाउँदै
सरकारले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सुचारु गर्न अनुमति दिएसँगै यससँग सम्बन्धित खेलाडी, खेल संस्था तथा संघ उत्साहित भएका छन् । कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण मुलुकमा ११ चैतयता खेलकुद गतिवधि पूर्ण रूपले चलायमान हुन सकेको थिएन । यसअघि सरकारले अन्य सबै गतिविधि सुचारु गरे पनि खेल क्षेत्रप्रति निर्णय गरेको थिएन ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै खेलका खेलाडी तथा संघलाई सक्रिय हुन अवसर मिलेको छ । लामो समय घरमै अभ्यास गरिरहेका खेलाडी निमयित प्रशिक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने भएपछि उत्साहित र आतुर छन् । खेलकुदको प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद्ले आउँदा दिनमा खेललाई सुचारु गर्न आफ्नो खाका कोरेको छ ।
०००
परिषद्का सदस्यसचिव रमेश सिलवालले सरकारको निर्णयपछि सातै प्रदेशमा विभिन्न योजना कार्यान्वयन गर्न लागेको जानकारी दिएका छन । उनले सात प्रदेशमा रहेका खेलाडी, प्रशिक्षक, अफिसियल तथा पदाधिकारीहरूलाई इन्सप्रारिङ, मोटिभेसन तथा मनोविज्ञान कक्षा सञ्चालन गर्ने योजना रहेको बताएका छन् । ‘सात प्रदेशमा निश्चित योजनाका साथ जान्छौँ, त्यहाँ उनीहरूलाई मनोविज्ञानदेखि डाइटेसनसम्मको प्रशिक्षण दिन्छौँ,’ सदस्यसचिव सिलवालले बताए, ‘म्यानेजमेन्ट लिडरसिप कसरी गर्ने तथा योग कक्षा पनि सञ्चालन हुनेछ ।’
सबै गतिविधि सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रोटोकलअनुसारै सञ्चालन गर्ने उनको भनाइ छ । ‘हामी पूर्णतः सबै प्रोटोकलअनुसारै अगाडि बढ्छौँ,’ सिलवाल भन्छन् । सरकारको अनुमतिपछि परिषद्को अर्को लक्ष्य नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको छ । तर, १५ मंसिरसम्मको अवस्थाअनुसार परिषद्ले अगाडि बढाइने उनले बताए ।
‘हामी १५ मंसिरसम्मको वातावरण हेर्छौँ, यदि सबै राम्रो हुँदै गएमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने पक्षको सबै तयारी गर्छौँ,’ योजना सुनाउँदै उनले भने, ‘नवौँ बृहतका लागि जिल्लादेखि क्षेत्रिय छनोटसम्म हुनेछ ।’ यदि १५ मंसिरसम्म अवस्था राम्रो नभएमा नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने उनको जिकिर छ ।
यसैगरी ७ सय ५३ पालिकामा फुटबल तथा भलिबलको ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना हुने सिलवालको भनाइ छ । ट्यालेन्ट हन्टबाट आएका खेलाडीलाई विशेषतः राष्ट्रिय प्रतियोगिताको तयारी राख्ने उनले बताए । यता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने योजना भइरहेको उनले बताएका छन् । ‘विभिन्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने
कुरा छ, यसमा दर्शकसहित वा विहीन गर्ने भन्ने पनि प्रश्न छ, त्यो अवस्थाअनुसार हुनेछ,’ उनले भने, ‘कोभिड–१९ को अवस्था राम्रो भए हामी दर्शकसहितको प्रतियोगितासमेत गर्छौँ ।’
०००
अन्तर्राष्ट्रिय खेलमा सक्रिय हुने खेलमध्ये क्रिकेट पर्छ । कोभिड–१९ को महामारी नचलेको भए खेलाडी आइसिसी विश्वकप लिग–२ मा अभ्यस्त हुन्थे । तर, कोभिड–१९ का कारण खेलाडीले गत माघदेखि कुनै पनि प्रतियोगितामा सहभागिता जनाएका छैनन् । खेलाडी १० महिनायता आधिकारिक रूपमा प्रशिक्षणमा छैनन् । यद्यपि व्यक्तिगत प्रयासमा खेलाडीले अभ्यास सुरु गरेका थिए । तर, भदौमा जारी भएको निषेधाज्ञापछि खेलाडीको प्रशिक्षण अनिश्चितकालका लागि रोकियो ।
सरकारको ग्रिन सिग्नलपछि क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो गतिवधि सुचारु गर्ने सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । गत साता क्यानले राष्ट्रिय पुरुष टोलीको क्याम्प १० मंसिरबाट गर्ने घोषणा गरेको थियो । क्यानले क्याम्पमा रहने खेलाडीको व्यवस्थान पहिलो प्राथमिकतामा राखेको प्याकुरेलले बताए । ‘अहिले खेलाडीलाई कहाँ राख्ने भन्ने हामी छलफल गरिरहेका छौँ,’ उनले भने, ‘तिहारपछि यसको व्यवस्थापन हुनेछ ।’
क्यानले वार्षिक क्यालेन्डरअनुसार पुरुष, महिला तथा यू–१९ को राष्ट्रिय प्रतियोगिता पनि गर्ने भएको छ । क्यानको यो पनि महत्वपूर्ण योजना पुससम्म सकाउने लक्ष्य राखेकोे प्याकुरेलले बताए । ‘यी तीनवटै महत्वपूर्ण प्रतियोगिता पुसभित्र गर्ने लक्ष्य राखेका छाैँ,’ प्याकुरेल भन्छन्, ‘प्रधानमन्त्रीकपलाई राष्ट्रिय प्रतियोगिताकै रूपमा अगाडि लाने कुरा छ ।’
०००
नेपालको नम्बर एक खेलका रूपमा रहेको फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ । नेपाली टोली अहिले बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि ढाकामा छ । कोभिड–१९ को महामारीबीच नै फुटबलले परिषद्को स्वीकृति दुईपटक प्रशिक्षणमा डाक्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिस्तारै आफ्नो वार्षिक योजना अगाडि लैजाने प्रवक्ता किरण राईले बताए ।
तर, एन्फा प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट भइनसकेको रहेछ । ‘सरकारको खेलकुद सञ्चालनसम्बन्धीको निर्णय स्वागतयोग्य छ, हामी अब यसैअनुसार अगाडि बढछौँ, तर कसरी प्रतियोतिगा सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट भएका छैनौँ,’ एन्फाका प्रवक्ता राईले भने, ‘कार्य समितिको बैठकले यो सबै निर्णय हुनेछ ।’
गत फागुनमा सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिता सकिएको थियो । कोभिड–१९ का कारण सरकारले ११ चैतमा लकडाउन गर्नुअघि ‘बी’ डिभिजन फुटबल आधा सकिएको थियो । क्यालेन्डरअनुसारको सबै प्रतियोगिता सञ्चालन गर्नका लागि एन्फाको कार्यसमितिको बैठकमा छलफल हुने उनले बताए । ‘लिग तथा मोसफलमा हुने प्रतियोगिता कसरी सञ्चालननर्गे सम्बन्धमा कार्यसमितिको बैठकले नै गर्नेछ,’ उनले भने ।
०००
नेपालको अन्तर्राष्ट्रिय खेल संस्थासँग समन्वय गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले तिहारलगत्तै खेलाडी तथा प्रशिक्षकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । ‘सरकारले अनुमति दिएको छ, हामी टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी तथा प्रशिक्षकसँग एउटा मिटिङ गर्छौँ,’ एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले भने, ‘टोकियो ओलम्पिक लक्षित नै कार्यक्रम हुनेछ ।’ यसैगरी ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक अन्य गतिवधि सुरु हुने बताएका छन् ।