चार महिनामा २७ वर्ष कैद, ३५ लाख जरिवाना फर्स्योट

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

पर्वतमा चालू आर्थिक वर्षमा नै २७ वर्ष कैद र ३५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको सक्रियतामा साउनदेखि यता कात्तिकको मध्यसम्म २६ वर्ष नौ महिना तीन दिन जरिवाना असुलउपर भएको छ ।

यस्तै, ३५ लाख ६ हजार पाँच सय ३० रुपैयाँ जरिवाना असुलउपर भएको छ । जिल्ला अदालतले दिएको तथ्यांकअनुसार पर्वतमा विभिन्न मुद्दामा सजाय सुनाएर फरार रहेका व्यक्तिहरू खोजी गर्ने क्रममा २७ भन्दा बढी मुद्दामा दोषी ठहरिएका व्यक्तिबाट उक्त रकम असुलउपर भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले चालू आर्थिक वर्षमा फरार अभियुक्त पक्राउ गर्ने अभियान सञ्चालन गरेसँगै उक्त रकम फस्र्योट भएको पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले बताए ।

अदालतको तथ्यांकअनुसार पर्वतमा अझै सात सय ५२ वर्ष आठ महिना १४ दिन दण्ड–सजाय र एक करोड ४२ लाख ६९ हजार सात सय ७८ रुपैयाँ जरिवाना सुनाइएका व्यक्तिहरू फरार छन् ।

फरार रहेका व्यक्तिलाई सम्पर्कमा ल्याउन अदालतले पटकपटक सजाय छुटको व्यवस्था गरी ताकेता गरे पनि अभियोग प्रमाणित भएका व्यक्तिहरू सहजै सम्पर्कमा आउने गरेका छैनन् ।

कानुनलाई छलछाम गरेर फरार रहेका व्यक्तिको खोजी भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन लागिपरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । 

See More On

सुझावित समाचार