प्रचण्डको नेतृत्वमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको छ ।

नेकपाभित्र चर्किएको विवादका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठक नडाकेको भन्दै अध्यक्ष दाहालसहित पाँचजना सचिवालय सदस्यको सहभागितामा बैठक बसेको हो । 

बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । यो बैठक अनौपचारिक रूपमा बसेको स्रोतले जनाएको छ । 

यस बैठकमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा भने सहभागी छैनन् । 

धुम्बाराहीमा बैठक थाल्नुअघि अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार गएका थिए । त्यहाँ उनीहरूबीच पौने घन्टा छलफल भएको थियो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।

यसअघि गत शुक्रबार अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जसमा पाँचजना सचिवालयका सदस्यको उपस्थिति थियो । 

उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरी पत्र बुझाइएको थियो । 

उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो ।

हिजो सोमबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले सहमति नदिए बैठक डाक्ने जनाएकाे थियाे । 

सुझावित समाचार