‘पार्टी फुटाए सिरुपाते खुकुरी लिएर खेद्ने हो’

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

नेकपाभित्र विवाद चुलिएका बेला ताप्लेजुङका जनताले पार्टी फुटाएर नेता गाउँ आए ‘सिरुपाते खुकुरी लिएर खेद्ने’ चेतावनी दिएका छन् ।

ताप्लेजुङको मिक्वाखोला– ३ लिबाङका जनताले नेकपाका शीर्ष नेतृत्वलाई पार्टी नफुटाउन कडा निर्देशन दिएका छन् । 

गृहजिल्ला गएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगश भट्टराईसमक्ष  लिबाङका स्थानीयले यस्ताे चेतावनी दिएका हुन् । 

मन्त्रीले सम्बाेधन गर्ने कार्यक्रममा उपस्थित लिबाङका बलनाथ लिबाङले केन्द्रमा पार्टी फुटाएर गाउँमा भोट माग्दै आए सिरुपाते खुकुरी लिएर खेद्ने बताए । 
 
‘नेता सही भए मात्र देश सही दिशामा जाने’ बताउँदै बलनाथले मन्त्री भट्टराईमार्फत प्रधानमन्त्री ओलीलाई पार्टी जोगाएर देशलाई सही दिशामा लैजान सन्देश पठाए । 

पूर्वनेकपा (एमाले)का क्षेत्रीय सदस्यसमेत रहेका बलनाथले मन्त्री भट्टराईलाई आग्रह गर्दै भने, ‘नेकपाका तीन नेता केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई पार्टी जोगाउने यो मेरो सन्देश सुनाइदिनू ।’ उनको सन्देश पनि मन्त्री भट्टराईले तीन नेतालाई आफूले यो सन्देश दिने वचन दिए । 
 
अर्का  ७४ वर्षीय वृद्ध नारायण लिम्बूले आफू पनि पञ्चायतकालमा जेल बसेको स्मरण गर्दै पार्टी विभाजन भए देशमा ठूलो दुर्घटना हुने चिन्ता व्यक्त गरे । 

लिम्बूले भने, ‘म अहिलेका प्रधानमन्त्री केपी ओलीसँगै जेल बसेको हुँ । उहाँलाई मेराे विनम्र अनुरोध छ, जसरी हुन्छ पार्टी जोगाउनुस्, देश बचाउनुस् ।’ 

मन्त्री भट्टराई २१ कात्तिकदेखि एक हप्ताका लागि गृहजिल्लामा छन् । 

सुझावित समाचार