२४ तोला सुनका गहनासहित भारतीय नागरिक पक्राउ

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

साढे ६ लाख रुपैयाँ अवैध रकम बरामद

भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको साढे २४ तोला सुनको गहना र अवैध हुन्डीको साढे ६ लाख रुपैयाँसहित एकजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर–१७ इस्लामपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायत–१३ घर भएका २५ वर्षीय दीपक भगत छन् । उनको साथबाट साढे २४ तोला सुनको गहना र हुन्डीको अवैध ६ लाख ६२ हजार ६ सय ५० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिए । 

हाल नेपाल–भारत बोर्डर सिल भए पनि खुला सीमाको फाइदा उठाउन चोर नाकाबाट बिहीबार साँझ उनी नेपाल प्रवेश गरेका थिए । चेकजाँचका क्रममा सशस्त्र प्रहरी टोलीले शरीरका विभिन्न भाग, जुत्ता, मोजा, अन्डरवेयरलगायतमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । 

पक्राउ परेका भगत अवैध सुन र हुन्डीको रकम ओसारपसार गर्ने भरिया मात्र भएको प्रहरीको अनुमान छ । सशस्त्र प्रहरीले भगतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी रानीको जिम्मा लगाएको छ । विराटनगर भन्सार कार्यालयले बिगो अनुसार जरिवना गर्ने तयारी गरेको छ । भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले कानुनअनुसार सुन र नगद दुबैको बिगोअनुसार जरिवना बुझाए अभियुक्त भगतलाई पुर्पक्षका लागि छाडिने, नबुझाए कारागार चलान हुने बताए । उनका अनुसार भन्सारले भगतसँग बयान लिन सुरु गरेको छ । 

अवैध कारोबारीले भारियामार्फत तस्करीको सुन भारत पठाएर आकर्षक गहना बनाएर फेरि नेपाल भित्र्याउने गर्छन् । यसैगरी, भारतबाट चाँदीका गरगहना पनि तस्करी गरेर ल्याउने गर्छन् । कोरोना महामारीको रोकथाम गर्न नेपाल–भारत सीमा सिल गरिएको भए पनि अवैध कारोबारीले खुला सिमानाको फाइदा उठाउँदै विभिन्न खाले तस्करी गर्दै आएका छन् ।

See More On

सुझावित समाचार