कांग्रेस पदाधिकारी बैठक शनिबार पनि बस्ने

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

पार्टीभित्रको विवाद मिलाउन जारी कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक शनिबार पनि बस्ने भएको छ । विवादका विषयमा शुक्रबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि शनिबार पुनः बैठक बस्ने भएको हो । 

केन्द्रीय समितिको बैठक अगावै विवाद मिलाएर केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल गर्नुपर्ने भन्दै दबाब परेपछि सभापति शेरबहादुर देउवाले शुक्रबारको केन्द्रीय समिति बैठक स्थगित गरेर विवादित मुद्दाहरूमा सहमति र पार्टीभित्र विश्वासको वातावरण बनाउन कसरत गरिरहेका छन् । 

विवादका विषयमा सहमति खोज्न सभापति देउवाले शुक्रबारसमेत गरी चौथोपटक अनौपचारिक बैठक गरेका छन् । आजको बैठकमा नेता रामशरण महत, डा. मीनेन्द्र रिजाल र एनपी सावदलगायतले विवादका विषयमा धारणा राखेका छन् । ‘नेताहरूले बोल्ने क्रम सकिएको छैन, शनिबार ठोस निर्णय आउन सक्छ,’ कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने । 

पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतमा संस्थापन पक्षले विधान मिचेर कार्य गरेकोलगायत विषयमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका २७ केन्द्रीय सदस्यले १६ बुँदे माग राख्दै ११ असोजमा पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ती मागबारे केन्द्रीय समिति अगावै सहमति खोज्नुपर्ने पौडेल समूहको माग छ । केन्द्रीय कार्यसमितिको बैठक आगामी सोमबार बस्दै छ । 

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म १४औँ महाधिवेशन गर्ने मिति तोकेको छ । तर, त्यसअघि गर्नुपर्ने पूर्वतयारी भने गरेको छैन ।

सुझावित समाचार