सचिवालयको अनौपचारिक बैठक पार्टी विधान र परम्पराविपरीत : सूर्य थापा

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष केपी ओली तथा अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बाेलाइएकाे सचिवालयको अनौपचारिक बैठकबारे कुनै सहमति नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

उनका अनुसार पार्टी महासचिव विष्णु पौडेललाई समेत यसबारे कुनै जानकारी छैन । थापाले नयाँ पत्रिकासँग भने, ‘पार्टी विधानअनुसार दुई अध्यक्षको सहमतिपछि पार्टी महासचिवले सचिवालयकाे बैठक बोलाउने हो । त्यसैले यो बैठक पार्टी विधान, परम्पराविपरीत हुन्छ ।’ 

अध्यक्ष प्रचण्डले यसअघि र बिहीबारको भेटमा समेत  अर्का अध्यक्ष ओलीलाई पार्टीभित्र चुलिएकाे विवाद सचिवालय बैठक बाेलाएर छलफल गर्न प्रस्ताव गर्दै आएका छन् ।

अध्यक्ष ओलीले भने पहिला दुई अध्यक्षबीच एजेन्डामा छलफल र सहमति भएपछि सचिवालयको बैठक बोलाउनुपर्ने भन्दै सचिवालय बैठक टार्दै आएका छन् । 

दुवै अध्यक्षबीच पार्टीभित्र देखापरेका विवादबारे कुनै सहमति जुट्न नसकेपछि प्रचण्डले आज अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।प्रवक्ता श्रेष्ठका अनुसार छलफलमा सहभागी हुन सबै सचिवालय सदस्यलाई खबर गरिएको छ । 

सुझावित समाचार