निर्णायक भनिएकाे सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच बिहीबार भएकाे छलफल एक–अर्कामा आरोप लगाउनमै केन्द्रित भएकाे छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा एक घन्टा भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक–अर्कालाई गुटको भेला चलाउन सक्रिय भएको भन्दै आरोप लगाएकाे स्राेतले जनाएको छ ।
भेटमा दाहालले अर्का अध्यक्ष ओलीसँग पार्टीभित्र कसले राजीनामा मागेको छ र ? बाहिर–बाहिर राजीनामा दिन्न भनेर भन्नुभएको ? भन्दै प्रश्न गरेका थिए ।
साथै प्रचण्डले मदन भण्डारी फाउन्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि पाेखेका थिए ।
त्यसको जवाफमा ओलीले आफूले गुटको भेला गरेको नभई दाहालले नै बाहिर-बाहिर अनेकखाले भेला बोलाएर गुट चलाएको आरोप लगाएका थिए ।
आजको छलफल दुई अध्यक्षबीच तिक्ततापूर्ण रहेको स्रोतले जनाएको छ । आजको भेटमा कुनै पनि सहमति भएको छैन ।
अध्यक्ष ओली, ‘तपाईंहरू षड्यन्त्रमा लाग्नुभएको छ, म त्यसको सामना गर्छु,’ भन्ने शैलीमा प्रस्तुत भएकाे बालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा दाहालले पार्टीको सचिवालय बैठक बोलाउने र सबै कुरा त्यहीँ छलफल गर्न भनेका थिए । तर, यसबारेमा कुनै पनि सहमति हुन सकेको छैन।