स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको फैसलाबाट कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबर्जस्ती करणी, मानव बेचबिखन, लागुऔषध, हातहतियार खरखजाना, सवारी ज्यान, बहुविवाह, चेक अनादर, अंशबन्डा, सम्बन्धविच्छेद, कुटपिट, लुटपिटलगायतका मुद्दामा लुकिछिपी बसेका ९७ जना पुरुष र १४ जना महिलालाई बुधबार साँझसम्म पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा २०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समयदेखि लुकिछिपी नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जबर्जस्ती करणी मुद्दामा लामो समयदेखि फरार रहेका बालसिंह गुरुङ, जबर्जस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न तीनजना, हातहतियार खरखजाना मुद्दाका तीनजना, लागुऔषध मुद्दाका दुईजनालगायत रहेको अधिकारीले बताए ।
डिएसपी अधिकारीले पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत स्याङ्जामा बुझाइएको बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चलाएको ‘फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्तिसुरक्षामा चुनौती आउने, अपराध गरेपश्चात् पनि विनासजाय समाजमा रहँदा अपराध गर्न प्रोत्साहित हुने भएकाले प्रतिवादीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन अभियान प्रभावकारी भएको डिएसपी अधिकारीले बताए ।
उनका अनुसार दसैँ–तिहारको वेलामा अत्यधिक मानिसको आवागमन हुने हुँदा विशेष योजना बनाई लामो समयदेखि निगरानी गरी फरार प्रतिवादीहरूलाई जिल्लाभित्रका विभिन्न स्थान र बाहिरी जिल्लाबाट समेत समन्वय गरी पक्राउ गरिएको छ ।