सामुदायिक विद्यालयमा अनलाइनमार्फत पढाइ, अनलाइनबाटै परीक्षा

लकडाउनमा पनि अनलाइनबाटै नियमित अतिरिक्त क्रियाकलाप, अभिभावक पनि दंग

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा पढ्ने विपना खत्री बिहानको ९ बज्यो कि अनलाइन बसिहाल्छिन् । अन्य निजी विद्यालयमा पढ्ने विद्यार्थीको पढाइ अवरुद्ध भए पनि उनको भने लकडाउनमा पनि पढाइ रोकिएन । 

बिहान ९ बज्यो कि जुममा जोडिने उनको कहिल्यै पढाइ रोकिएन । मोबाइलबाट जुममा शिक्षक–शिक्षिकासँग जोडिने विपना भन्छिन्, ‘बिहान ९ बजेबाट नै पढाइ सुरु हुन्छ । सबै साथीभाइ जुममै हुन्छौँ । स्कुल बन्द भएजस्तो लागेको छैन ।’ उनी दिनभरिजसो स्कुलमा झैँ पढाइमै हुन्छिन् ।

बिहान जुममा शिक्षक–शिक्षिकासँग जोडिन्छिन् भने दिउँसो रेडियोमार्फत पढाइ गर्छिन् । ‘रेडियो सुन्छु, नजानेका विषयहरू सर र मिसलाई सोध्ने गरेका छौँ,’ उनले भनिन् । शान्ति माविमा पढ्ने सबै विद्यार्थीको दैनिकी विपनाको जस्तै छ । दिउँसो रेडियोबाट पढाइ गर्छन् । नजानेको विषय बिहान जुम कक्षामा शिक्षक–शिक्षिकालाई सोध्छन् । उनीहरूले पढाइ मात्रै होइन, अनलाइनमार्फत नै आन्तरिक परीक्षा पनि दिएका छन् । 

लकडाउनको समयमा समेत विद्यार्थीको पढाइ अवरुद्ध नभएकोमा अभिभावक पनि दंग छन् । घरमै बसेर पढ्ने वातावरण सिर्जना गरेकोमा खुसी लागेको अभिभावक पदम खत्रीले बताए । ‘कोरोनाले छोरी विद्यालय जान पाएकी थिइन । शिक्षक घरमै आएर अब अनलाइनबाट पढ्नुपर्ने भयो भनेर सिकाएर जानुभयो,’ खत्रीले भने, ‘अहिले त परीक्षासमेत अनलाइनबाट भयो । हामी खुसी छौँ ।’

कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि सामुदायिक विद्यालय पूर्ण रूपमा बन्द छन् । नयाँ शैक्षिक सत्रको पढाइ सुरु नहुँदै लकडाउन भएकाले कतिपय विद्यालयका विद्यार्थीले त पुस्तकसमेत पाएका छैनन् । शान्ति मावि भने नमुना विद्यालय बनेको छ । 

अनलाइन माध्यममार्फत नै वैकल्पिक सिकाइको मापन गर्न परीक्षा पनि लिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले बताए । प्रधानाध्यापक पाण्डेका अनुसार प्रश्नपत्र विद्यार्थीको घरघरमै पठाइएको थियो । अनलाइनमा बसेर लेख्न लगाइएको थियो । अनलाइनबाट नै विद्यार्थीले दिएको परीक्षाको अवलोकन पनि गरेको उनले बताए । ‘हामीले घरलाई नै पाठशाला बनाएर अभिभावकहरूबीच छलफल गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएका छौँ,’ प्रधानाध्यापक पाण्डेले भने, ‘अभिभावकले रेखदेख गर्ने गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीको पठनपाठन र परीक्षासमेत लिएका छौँ ।’

यसका लागि विद्यालयका सबै शिक्षक–शिक्षिकालाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिइएको थियो । त्यस्तै, नेपाल टेलिकमलाई पत्राचार गरी विद्यार्थीको नाम र नम्बर रजिस्टर गरी ई—शिक्षा प्याकेज लिएर सस्तोमा डाटा लिन पाइने व्यवस्था गरेको विद्यालयका प्राविधिक विभाग प्रमुख जीवन खनालले बताए । ‘हामीले टेलिकमसँग सहकार्य गरेका छौँ । अभिभावकलाई महँगो नपरोस् भनेर तीन सय १५ रुपैयाँमा २४ जिबी डाटा पाइने प्याकेज एक्टिभ गरेका छौँ । जसलाई २८ दिनसम्म प्रयोग गर्न मिल्छ,’ खनालले भने । 

प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकपलाप सञ्चालन गरेर नमुना कामको सुरुआत गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘शान्ति माविले प्रविधिको प्रयोग गरी गाउँपालिकाभित्र नमुना काम सम्पन्न गरेको छ । अब अन्य विद्यालयले समेत अनुसरण गरेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष आचार्यले भने । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले नमुना काम गरिएको बताए । यसले अब भर्चुअल सिकाइमा जोड दिन प्रेरणा मिलेको उनको भनाइ छ । ‘मैले संसदीय समितिका बैठक भर्चुअल गर्दछु भनेर प्रयास गरेँ, तर सम्भव भएन,’ खड्काले भने, ‘ग्रामीण क्षेत्रमा निरन्तरण रूपमा भर्चुअल माध्यमबाट पढाइ र अतिरिक्त क्रियाकलाप चलिरहेका छन् । यो सबैको प्रयासबाट सम्भव भएको हो, यसमा गर्व लागेको छ ।’

यो विद्यालयले अतिरिक्त क्रियाकलाप पनि अनलाइनमार्फत नै गर्दै आएको छ । पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन थालिएको प्रधानाध्यापक पाण्डेले बताए । अनलाइनबाटै विद्यार्थीले कविता तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएका छन् । 

सुझावित समाचार