सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न निर्देशन दिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्विट गर्दै सरकारले लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न मातहतलाई दिएको निर्देशन आपत्तिजनक भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ! होसियार ! संविधानको मर्मविरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’ कानुन मन्त्रालयले २८ असोजमा परिपत्र जारी गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को ठाउँमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भन्दै निर्देशन गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने प्रधानमन्त्री ओलीले ‘अर्को ठूलो एक्सन लिन्छु’ भनेको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रविरुद्धको एक्सन नसहने टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री ओलालाई पदका लागि होस नगुमाउन चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले प्रचण्डलाई अर्को ठूलो एक्सन लिन्छु भनेछन् । नेकपाको दलभित्रै सीमित हुने एक्सनको बारेमा केही भन्नु छैन । तर, जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्रविरुद्धको एक्सन हो भने सहन सकिँदैन ।’