गोकर्ण राज निकुञ्जको पर्खाल जीर्ण

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल ट्रस्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् ।
निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किलाेमिटर पर्खालमध्ये धेरै भाग जीर्ण छ ।

उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकललगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडेतार लगाए पनि धेरै स्थानमा खुला छ ।

गोकर्णबाट जोरपाटी निस्कने सडक विस्तार भइरहेकाले धेरैजसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । विस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नुपरेको मोटरसाइकलमा यात्रा गरिरहेका दिलेन्द्र रायमाझी बताउँछन् । पर्खालभित्रतिर राज निकुञ्जमा पक्की सडक छ । वैकल्पिक रूपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

गोकर्णेश्वर नगरपालिका– ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको बताउँछन् ।  नेपाल ट्रस्टको कार्यालयमा यससम्बन्धी गुनासा धेरैपटक गरिएको उनले सुनाए । 

वर्षौँदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रूखलगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रस्टको कार्यालयको एकाइ कार्यालय दक्षिणढोकामा छ ।

जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।एकाइ कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौँअघिदेखि नै जानकारी गराउँदै आएको बताउँछन् । पर्खाल बनाउन चालू आर्थिक वर्षमा ठेक्का भएकाले छिटै काम हुने पनि उनले सुनाए । रासस

सुझावित समाचार