भुटानी शरणार्थी शिविरका बालबालिकाको बिचल्ली

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

धेरैका घरमा दसैँ आयो, तर अभिभावकविहीन यी बालबालिकाले नयाँ लुगा नफेरेको धेरै भयो

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका सात वर्षीय बालक अर्विन माझीकी आमा हराएको एक वर्ष भयो । आमा हराएपछि बुबा पनि वेलावेला मात्र घर आउँछन् । उनीमाथि एक बहिनी र एउटा भाइको पालनपोषणको जिम्मेवारी छ । 

आठ वर्षीया उनकी दिदीलाई शरणार्थीको पहलमा मामाघर पठाइयो । अहिले उनीहरू तीनजना शरणार्थी शिविरमा छन् । काम केही गर्न सक्दैनन् । शरणार्थी शिविरका अरूकोमा के पाक्छ त्यही माग्न पुग्छन्, उनी । ‘कहिलेकाहीँ बुबाले ल्याउनुहुन्छ । त्यही खान्छौँ । तर, बुबा त धेरैजस्तो मातेरै आउनुहुन्छ, कसैले चामल दिएको छ भने पनि बेचेर जानुहुन्छ,’ उनी भन्छन्, ‘हामी त अरूको घरमा जान्छुम् । कहिले दिनुहुन्छ । कहिले बोकै बस्छौँ ।’

उनले लुगाकपडा नफेरेको वर्षौँ भयो । अरूले दिएको थोत्रो लुगामा उनीहरूको जीवन चलेको छ । अरू शरणार्थीले छोराछोरीलाई दसैँमा नयाँ लुगा किनिदिन थालेका छन् । तर, यी बालबालिकाको यसपटकको दसैँ खल्लो हुने निश्चित छ । ‘दसैँमा अरूले त लुगा किने । हामीलाई त बुबाले नकिनिदिने रे,’ अर्विन भन्छन् । उनीहरू पहिला त शरणार्थी शिविरमा रहेको विद्यालय जान्थे । शिविरको विद्यालय पनि बन्द भयो । शरणार्थी बालबालिकालाई बाहिरकै विद्यालय पढ्ने व्यवस्था गरियो । उनीहरूको घरमा खाने पनि नभएपछि विद्यालय जान पनि छाडे उनीहरूले । 

‘उनीहरू त जे भेट्यो त्यही खान्छन् । कहिलेकाहीँ म पनि खाना दिन्छु उनीहरूलाई । मैले पनि केही असहाय बालबालिका पालेको छु । आयस्रोत छैन । सधैँ दिन सक्दिनँ,’ उनकी छिमेकी सीता गुरुङ भन्छिन्, ‘घरमा केही छैन । जे भेट्यो त्यही खान बाध्य छन् ।’ 

बाबु जेलमा, आमाले छाडिन् 

भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, मोरङमा बस्दै आएकी ११ वर्षीया अल्सिबा राईको त्यस्तै बिचल्ली छ । बाबु जेलमा छन् । आमा घर छाडेर दोस्रो विवाह गरेर गइन् । उनी अहिले शिविरमा एक्लै बस्दै आएकी छिन् । अभिभावकविहीन उनको गुजारा अर्काकै भरमा चलेको छ । ‘बुबा जेलमा हुनुहुन्छ । आमा त हराउनुभयो । शिविरकै दाइ–दिदीहरूले सहयोग गर्नुहुन्छ,’ उनले भनिन् । 

शरणार्थी शिविर बेलडाँगीकी १४ वर्षीया असहाय बालिका दृष्टि राईलाई अभिभावकविहीन हुनुको पीडा राम्रैसँग थाहा छ । उनी सानै हुँदा आमा हराइन् । बुबा जेल परे । सानै उमेरबाट उनको काँधमा दुईजना भाइ र एकजना बहिनीको जिम्मेवारी थपियो । अहिले उनी र उनका भाइबहिनीले अभिभावक पाएका छन् । शरणार्थी शिविरमा असहायको पक्षमा काम गरिरहेका युवराज राईले उनी र उनकी बहिनीको अभिभावकत्व लिएका छन् । सीता गुरुङले दुई भाइको लालनपालनदेखि पढाइसम्मको व्यवस्था गरिदिएकी छिन् । 

३२ बालबालिका असहाय
शरणार्थी शिविर बेलडाँगी र शनिश्चरेमा गरी ३२ जना असहाय बालबालिका रहेको शरणार्थी अगुवा तथा फ्रेन्ड्स क्लब बिआरसीका अध्यक्ष युवराज राई बताउँछन् । उनीहरूको पालनपोषणमा नै समस्या भएको उनी बताउँछन् । ‘केहीलाई शिविरभित्र नै पाल्ने मान्छे खोजेर उनीहरूको जिम्मा लगाएका छौँ । तर, सबैलाई सम्भव भएको छैन,’ उनी भन्छन्, ‘उनीहरूको अवस्था भनिसध्य छैन । शब्दमा त के नै भन्ने र ! उनीहरूको अवस्था दर्दानक छ ।’ 

केही वर्ष पहिलासम्म त दातृ निकायले रासन दिँदै थियो । तर, पछिल्लो समय रासन कटौती गर्दा शिविरमा रहेका असहाय बालबालिका निकै अप्ठ्यारोमा परेको उनी बताउँछन् ।

उनीहरूको क्लबले गत वर्ष २१ जना बालबालिकालाई दाता खोजेर निजी विद्यालय भर्ना गरिदिएको थियो । अहिलेसम्म चारजनाले बीचमै विद्यालय छाडेको उनी बताउँछन् । ‘परिवारको अवस्था त्यस्तो छ । घरमा राम्रोसँग खान पनि पाउँदैनन् । स्कुल हालेर मात्र नहुने रहेछ,’ उनी भन्छन्, ‘सातजनाले छाडिसके । अरू पनि घरमा पेटभरि खान पाएको दिन जान्छन् । अरू वेला जाँदैनन् ।’ 

लकडाउनमा दीर्घरोगी वृद्धवृद्धाको उपचारका लागि सहयोग गरेको फ्रेन्ड्स क्लब बिआरसीले दसैँमा बालबालिकाका लागि पनि सहयोगका लागि स्रोत खोजिरहेको छ । अध्यक्ष राईका अनुसार खासगरी तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीसँग सहयोग मागिएको छ । ‘दसैँ त हाम्रो ठूलो पर्व हो । हामीले त नमाने पनि हुन्छ । तर, केटाकेटीलाई त रहर हुन्छ नि !’, उनी भन्छन्, ‘उनीहरूको दसैँ खल्लो नहोस्, एक छाक मीठो र एक जोर राम्रो लुगा लगाउन पाऊन् भन्ने हाम्रो लक्ष्य हो । हामीसँग त केही छैन । तर, तेस्रो देश गएका दाजुभाइ, दिदीबहिनीसँग सहयोग मागिरहेका छौँ ।’

सुझावित समाचार