महामारीमा सबै नागरिकलाई उपचार गराउनुपर्ने दायित्व सरकारको : माधव नेपाल

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संकटका वेला सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने वेला नागरिकको उपचार गर्न सक्दिनँ भनेर सरकारले पन्छिन नमिल्ने बताएका छन् । 

नेता नेपालले विज्ञप्ति निकालेर कोरोना महामारीका वेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने जनाएका हुन् ।

महामारीबाट आक्रान्त भइरहेकाे र बिरामीहरूको संख्या दिनदिनै बढिरहेको वेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने जनाउ दिनु दुःखद भएको उनको भनाइ छ । सरकारको यस्तो निर्णयका आधारमा सरकारी अस्पतालहरूले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरू थप मारमा परेकोप्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 

त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुनुपर्नेमा त्यसो नहुनु गम्भीर विषय भएको नेता नेपालले उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आमनागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’

सुझावित समाचार