बेपत्ता प्रहरी जवान पनि मृत भेटिए, घाँटीमा धारिलाे हतियारकाे चाेट

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण
बेपत्ता प्रहरी जवान पनि मृत भेटिए, घाँटीमा धारिलाे हतियारकाे चाेट

मृत अवस्थामा फेला परेका प्रहरी जवानकाे शव नदीबाट निकाल्दै प्रहरी

गस्तीमा गएका वेला शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार फेला परेको छ ।

प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर पर मोहना नदीको बीचभागमा साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज विक र प्रहरी जवान साउद शनिबार राति साढे आठ बजेतिर मोटरसाइकलमा सँगै गस्तीमा निस्केका थिए । त्यही राति दुवैजना बेपत्ता भएकोमा विकको शव आइतबार  धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो । 

धारिलो हतियारले घाँटी रेटेर हत्या गरी नदीमा फालिएको अवस्थामा उनको शव फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले साउदको शव नदीको बीचभागमा बालुवामुनि च्यापिएको अवस्थामा फेला परेको बताए । घाँटीमा धारिलो घरेलु हतियारको चोट रहेकोले साउदको पनि पनि हत्या भएको सिंहले बताए ।

तस्करको समूहले राति गस्तीमा गएका प्रहरीको हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।

दुवैजनालाई नाकानजिक रहेको उखुबारीको छेउमा हत्या गरेर नदीमा फालेको खुलेको प्रहरी स्रोतको भनाइ छ । 

एसएसपी सिंहले पनि हत्यामा संलग्न समूहको पहिचान भइसकेको बताए । ‘हत्यामा संलग्न समूहको पहिचान भइसकेको छ । केहीलाई पक्राउ गरिएको छ । केहीको खोजी भइरहेको छ,’ उनले भने, ‘अहिले अनुसन्धानको क्रममै छौँ ।’  

घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । हत्यामा संलग्न केही फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार