पर्सा प्रहरीले गत शनिबार वीरगन्जको एक अपार्टमेन्टकाे फ्ल्याटबाट ठूलो परिमाणमा सुन बरामद गर्याे ।
सुन बरामद गरेको ४८ घन्टापछि फ्ल्याट धनीकाे नाम प्रहरीले पत्ता लगाएको छ । प्रहरीका अनुसार भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा छ ।
प्रहरीका अनुसार फ्ल्याट नेपालमा विवाह गरेर बस्दै आएकी उनकी छोरी निवेदिका सिन्हाकाे नाममा छ ।
बरामद भएको सुनमा हालसम्म क–कसको संलग्नता र कसको हो भन्ने प्रमाणित हुन नसकेको अवस्था छ ।
फ्ल्याट खोल्न सिन्हाका छोरा किन आएनन् ?
स्रोतका अनुसार सुन बरामद हुने दिन अशोक सिन्हाका छोरा फ्ल्याट खोल्न र प्रहरीलाई सर्च गराउन अपार्टमेन्टमै आउँदै थिए ।
शनिबार बिहान अपार्टमेन्टमा आउने कुरा भएपछि बिहान ८ बजेदेखि १ बजेसम्म प्रहरीले उनलाई प्रतीक्षा गरेर बस्यो । तर, अन्तिम समयमा आउने–नआउने विषयबारे जानकारी नआएपछि प्रहरीले ताला तोडेर सुन बरामद गरेको थियो ।
स्रोतका अनुसार सुन बरामद गर्ने समयसम्म निरन्तर संवादमा रहेका अशोक सिन्हाका छोरा एक्कासि अपार्टमेन्टमा किन आएनन् भन्ने विषयमा बुझ्न जरुरी छ ।
सिन्हा विगत लामो समयदेखि आफ्नो फ्ल्याट नआएको प्रहरी भनाइ छ । तर, उनका छोरा प्रहरीको आग्रहमा अपार्टमेन्टमा आउन तयारी अवस्थामा भएर नआएको स्रोत बताउँछ ।
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको थिए । तर, पछिल्लो समयमा दुई महिनादेखि उनी वीरगन्ज आएका छैनन् ।
एक प्रहरी अधिकृतले भने, ‘सुन प्रकरणमा अहिले बाहिर धेरै कुरा आएको छ, तर सबैलाई प्रमाणको रूपमा लिन सकिँदैन । प्रहरीको आफ्नै अनुसन्धान गर्ने तरिका छ । हामी त्यहीअनुसार अगाडि बढ्छौँ । र, अन्य प्रमाण पनि जुटाउँदै जान्छौँ ।’