काठमाडौं टोखास्थित नयाँ पुस्ता सहकारी संस्थाको सटर उप्किएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थल पुग्यो । सटरका ताल्चा काटिएका थिए । कार्यालयभित्र दराजमा राखिएको रकम मात्र होइन, सिसिक्यामेराको दृश्य रेकर्ड हुने डिभिआर (डिजिटल भिडियो रेकर्डर) नै गायब थियो ।
महाराजगन्जस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाको पनि सटर फोडिएको भेटियो । त्यहाँको डिभिआर पनि गायब थियो । ललितपुर मानभवनस्थित नगदेश बहुउद्देश्यीय सहकारी संस्था पनि यही मोडेलबाट फोरियो । पक्राउ पर्ने डरले चोरले त्यहाँको डिभिआर पनि लिएर गएको भेटियो ।
उपत्यकामा करिब १५ दिनयता भएका चोरीका तीनवटै घटनामा चोरी गर्न अपनाइएको तरिका एकै छ । तीनवटै घटना एउटै समूहबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ । तर, त्यसमा संलग्न समूह पक्राउ गर्न सकेको छैन । ‘यसपटक चोरीमा एकै शैलीमा केही नौलो तरिका अपनाइएको छ,’ महानगरीय अपराध महाशाखाका डिएसपी भरत थापामगर भन्छन् ।
खासगरी, चाडपर्वका वेला वित्तीय संस्थालाई चोरले निसाना बनाउने गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको तथ्यांक केलाउँदा हरेक वर्ष दसैँ र तिहारआसपास चोरीका घटना बढेको देखिन्छ । गत वर्ष भदौ, असोज र कात्तिकमा चोरीका ५० भन्दा धेरै घटना भएका थिए । पकेटमार, डकैती, ठगी र लुटपाटजस्ता घटना पनि यस अवधिमा बढ्ने गरेको तथ्यांकबाट देखिन्छ ।
आर्थिक गतिविधि बढी हुने स्थानमा यस्ता घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्ला दिनमा गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा लुटपाट बढेको छ । गत साता एक ट्याक्सीचालकलाई मध्यराति गोठाटारमा पनि लुटपाट प्रयास भएको थियो ।
‘मानिस फेस्टिभ मुडमा हुन्छन् । सहरका बासिन्दा घर फर्किन्छन्, सहरका घर सुनसान हुन्छन् । वित्तीय संस्था पनि लगभग शून्य हुन्छन् । यसैलाई मौका ठानेर अपराधीको सक्रियता बढ्छ,’ काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर भन्छन् । अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की पनि दसैँ र तिहारमा आर्थिक अपराधका घटना बढ्ने गरेको बताउँछन् । ‘मानिस बेरोजगार छन् । तर, पर्वका वेला खर्च गर्नैपर्ने मनोविज्ञान छ । र, पैसा कमाउने छोटो बाटो अपनाउँछन् र अपराधमा संलग्न हुन्छन्,’ एसपी कार्की भन्छन् ।
पर्वमा परिसर र महाशाखाका छुट्टाछुट्टै योजना
कोभिड–१९ का कारण यसपटक चाडपर्वमा आधारभूत आवश्यकता पूरा गर्न मानिससँग पैसा कम छ । यहीवेला अपराध बढ्ने शंकामा महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध महाशाखाले उपत्यकाभित्र अलग–अलग विशेष योजना तयार पारेका छन् ।
परिसरले उपत्यका प्रवेश गर्ने हरेक नाकामा चेक पोइन्ट बनाएको छ । र, तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ । उपत्यकाभित्रका विभिन्न ठाउँमा आकस्मिक चेक पोइन्ट बनाएको छ । घटनास्थलमा तत्काल पुग्न क्विक रेस्पोन्स टिम (क्युआरटी) सतर्क अवस्थामा राखेको छ । एसपी राठौरका अनुसार आर्थिक कारोबारका केन्द्र निगरानी गर्न सादा पोसाकमा विशेष सुरक्षा टोली खटाइएको छ । दसैँ मनाउन गाउँ जानेहरूको घर र डेरा सुरक्षाका लागि अलर्ट रहन स्थानीय प्रहरीलाई निर्देशन दिइएको राठौर बताउँछन् ।
‘दसैँमा गाउँ जाँदा प्रहरीलाई खबर गर्न भनेका छौँ । झ्यालढोका बन्द राख्न, ताल्चा राम्रोसँग लगाउन सचेत गराएका छौँ,’ एसपी राठौर भन्छन्, ‘केही घटना भए तुरुन्तै प्रहरीलाई खबर गर्न र खबर आएको १० मिनेटमा घटनास्थलमा पुग्न मातहतका प्रहरीलाई निर्देशनदिएका छौँ ।’
महाशाखाले पनि सादा पोसाकका प्रहरी परिचालन गरी आर्थिक कारोबारका केन्द्र बैंक, वित्तीय संस्था, सपिङ मललगायतमा निगरानी बढाएको छ । ‘उपत्यकाभित्र हुने जटिल र ठूला अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा पर्छ । यस्ता अपराध हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरेका छौँ,’ महाशाखा प्रवक्ता एसपी कार्की भन्छन्, ‘वित्तीय केन्द्रमा निगरानी बढाएका छौँ ।’