काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित फलफूलचोकमा रहेको एक घरमा बिहीबार दिउँसो नेपाल ग्यासको सिलिन्डर विस्फोट हुँदा तीनतले घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ । स्व. श्याम केसीको घरमा सिलिन्डर पड्किँदा आसपासका १२–१४ घरमा क्षति पुगेको तथा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । ‘भुइँ तलाको भान्साकोठामा सिलिन्डर विस्फोट भएको देखिन्छ, विस्फोटबाट घरमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘एउटा ग्यास पड्केर आगो लागेपछि सँगै रहेको अर्को ग्यास पनि पड्किँदा क्षति धेरै हुन पुगेको हो ।’
सो क्षेत्रका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार कोरोना लागेर दुई दिनअघि मात्र घरधनी केसीको मृत्यु भएको थियो । उनको मृत्युपछि भुइँ तलामा केसीका छोरा–बुहारी र श्रीमती किरिया बसेका थिए । उनीहरूलाई भेट्न तीनजना आफन्त पनि पुगेका थिए । ‘बिहीबार दिउँसो पौने १२ बजेतिर खानेकुरा पकाउन एउटा सिलिन्डर बालेको केही समयपछि नै ग्यास लिक भएर पाइप जल्न थालेको परिवारले बताएका छन्,’ वडाध्यक्ष रिजालले भने, ‘त्यसपछि आफन्तसमेत मिलेर ग्यास भरिएको एउटा सिलिन्डरसहित सबैजना बाहिर आए । लगत्तै घरभित्र विस्फोट भएको हो ।’ दुईवटा सिलिन्डर विस्फोट हुँदा साढे तीन तलाको घर पूर्ण रूपले क्षति भएको वडाध्यक्ष रिजालले बताए । ‘घरको भित्ता तलदेखि माथिसम्मै भत्केको छ, यो घर मर्मत गरेर बस्न सक्ने अवस्थामा छैन,’ उनले भने, ‘सिलिन्डर पड्केको घरको ढोका छिमेकीको घरमा पुगेर अड्केको छ ।’
प्रहरीका अनुसार घटनामा मानवीय क्षति ठूलो भएको छैन । वडाध्यक्ष रिजालले किरियापुत्री तीनजनालाई नै नजिकै रहेको इन्द्रायणी किरियापुत्री घरमा बस्ने व्यवस्था मिलाइएको बताए । सोह्रखुट्टे प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । ‘गम्भीर घाइते भएका एकजनाको स्टार हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ भने खुट्टा भाँचिएको छ,’ उनले भने, ‘उनी छिमेकी घरका हुन् ।’ त्यस्तै, किरियापुत्री बसेका स्व. श्याम केसीका छोरालाई पनि टाउको, जिउ र खुट्टामा चोट लागेको छ । उनी सामान्य उपचारपछि किरियापुत्री घरमा आएर बसेका छन् ।
ग्यास उद्योग संघ अध्यक्षकै सिलिन्डर विस्फोट
सबैभन्दा पुरानो नेपाल ग्यासलाई नेपाली बजारमा सबैभन्दा सुरक्षित ग्यास सिलिन्डरका रूपमा समेत लिने गरिन्छ । कम्पनीले समय–समयमा थोत्रा भएका सिलिन्डरलाई स्क्र्याप गर्ने गरेका छन् । पछिल्लो समय २८ वैशाखमा नेपाल ग्यास ब्रान्डका २ हजार थान असुरक्षित सिलिन्डर नष्ट गरिएको थियो । बालाजुस्थित उद्योगपरिसरमा मिति सकिएका, कुच्चिएका र उपभोगका दृष्टिकोणले जोखिमयुक्त सिलिन्डरको पहिचान गरी नष्ट गरेको कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिएका छन् । अन्य कम्पनीले यसरी स्क्र्याप गरेको उदाहरण भेटिँदैन । तर, बिहीबार दुईवटा सिलिन्डर विस्फोट भएपछि कमजोरी कसको भन्ने प्रश्न उठेको छ । नेपाल ग्यासका सञ्चालक भण्डारीले सत्यतथ्य छानबिन भई बाहिर आउनुपर्ने बताए । ‘हाम्रो ग्यास सिलिन्डर सुरक्षित छन् । कसको कमजोरीले सिलिन्डर विस्फोट भएको भन्ने कुरा बाहिर आएपछि यो विषयमा थप बोल्न सहज हुन्छ,’ उनले भने ।
ग्यास उद्योग संघका अध्यक्षसमेत रहेका भण्डारीले सिलिन्डर विस्फोटले हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न बिमा गर्दै आएको बताए । ‘ग्यास कम्पनीकै कमजोरीबाट दुर्घटना भएको भन्ने पुष्टि भए बिमा कम्पनीबाट क्षतिपूर्ति भर्पाई हुने व्यवस्था छ । यसका लागि हामीले अधिकतम पहल गर्नेछौँ,’ उनले भने ।
ग्यास दुर्घटनामा १ करोडको बिमा
ग्यास दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणका लागि ग्यास उद्योग संघको पहलमा १ करोड रुपैयाँसम्मको बिमा गर्ने गरिएको छ । संघका उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार ग्यास विस्फोटबाट धनसम्पत्तिमा क्षति भए ४० लाख रुपैयाँसम्मको क्षतिपूर्ति बिमा कम्पनीले दिने गर्छ । ‘त्यस्तै, ग्यास दुर्घटनामा ४ जनासम्मको मृत्यु भए १० लाखका दरले ४० लाख रुपैयाँसम्म भुक्तानी दिने व्यवस्था छ । सोभन्दा बढी संख्यामा मृत्यु भए ४० लाखलाई दामासाहीका हिसाबले वितरण गरी क्षतिपूर्ति दिइन्छ,’ मल्लीले भने, ‘घाइतेको उपचार खर्चबापत चारजनासम्मको जनही ५ लाखका दरले २० लाख रुपैयाँसम्म व्यहोर्ने भन्ने छ । सोभन्दा बढी घाइते भए २० लाख रुपैयाँलाई नै दामासाही हिसाबले क्षतिपूर्ति उपलब्ध गराइनेछ ।’
यो क्षतिपूर्ति भर्पाईका लागि सिलिन्डरमै भएको कमजोरीका कारण दुर्घटना भएर क्षति पुगेको प्रमाणित हुनुपर्नेछ । उपभोक्ताको लापरबाहीले सिलिन्डर विस्फोट भए बिमा रकम दाबी गर्न नसकिने व्यवस्था रहेको छ । मल्लीका अनुसार जुन सिलिन्डर विस्फोट भएको हो, सोही कम्पनीले बिमा रकम भुक्तानी गर्ने व्यवस्था छ ।
यो व्यवस्थाअनुसार बिहीबारको घटनामा नेपाल ग्यासकै कमजोरीले सिलिन्डर पड्केको पुष्टि भए घर क्षतिबापत ४० लाख र उपचार खर्चबापत थप २० लाख रुपैयाँ सो कम्पनीले बिमा कम्पनीबाट पीडितलाई भुक्तानी दिलाइदिनुपर्ने हुन्छ ।
सिलिन्डर विस्फोटका केही ठूला दुर्घटना
९७ जना घाइते र २ को मृत्यु भएको चार वर्षअघिको कहालीलाग्दो घटना
चार वर्षअघि भारतले नाकाबन्दी लगाएपछि देशभर ग्यासको हाहाकार भएको थियो । त्यसपछि सरकारको निर्देशनमा उद्योगीले आधा ग्यास (७.१ किलो) भरिएको सिलिन्डर बिक्रीमा ल्याएका थिए । ग्यासको अभाव भइरहेकाले उपभोक्ताले दाउरा, स्टोभसमेत बालेर ग्यासको बचत गर्ने गरेका थिए । यही परिवेशमा हेटौँडाको सानो पोखरास्थित नापी कार्यालयमा सहारा ग्यास विस्फोट भएको थियो ।
नापी कार्यालय रहेको भुइँ तलामा साना होटेलहरू लहरै थिए । तीमध्ये एक होटेलका सञ्चालकले ग्यास बचत गर्न स्टोभ बालेर चिया पकाउन खोजेका थिए । स्टोभ बाल्ने क्रममा आगोको ठूलो लप्का बल्यो र आगाको त्यो लप्काले नजिकै ग्यास सिलिन्डरमा जोडेको प्लास्टिकको पाइपलाई भेट्यो । पाइप छिनभरमा पग्लेर आगो लाग्यो, लगत्तै ग्यास विस्फोट भएको थियो ।
उक्त नापी कार्यालयमा द्वन्द्वकालमा बम विस्फोट भएको थियो । त्यसैले ठूलो आवाज पड्केको सुनेर माथिल्लो तलामा रहेको नापी कार्यालयका सेवाग्राही फेरि बम पड्केको आशंकामा जो जहाँ थिए, त्यहीँबाट हाम फालेका थिए । ‘यसरी हाम फाल्ने क्रममा धेरै मानिस अंगभंग भए,’ सहारा ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे भन्छन्, ‘पछि अस्पतालमा लगेर उपचार गर्ने क्रममा गन्ती गर्दा ९७ जना घाइते भएको पाइयो । ग्यास पड्केको होटेलमा खाजा खाइरहेकामध्ये दुईजनाको ज्यान गयो ।’
त्यो घटनामा ग्यास उद्योगको लापरबाही थिएन, उपभोक्ताले ह्यान्डलिङमा कमजोरी गर्दा सिलिन्डर पड्केको थियो, तर तत्कालीन प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट वास्तविक घटनालाई लुकाएर बिमा कम्पनीलाई क्षतिपूर्ति भराउन सजिलो हुने गरी उद्योगकै सिलिन्डरमा कमजोरी देखाइएको थियो । त्यसपछि बिमा कम्पनीले घाइतेको उपचार र मृतकका आफन्तलाई राहतबापत ६० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो । उद्योग सञ्चालक घिमिरेले थप ३० लाख रुपैयाँ घाइतेको उपचारका लागि खर्च गरेका थिए ।
ग्यास उद्योग नै जलेको घटना
१२ पुस ०७४ बिहान वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी भएको थियो । राति चारवटा बुलेटमा ग्यास आएर नखन्याई राखिएको बुलेटबाटै बिहान ग्यास लिक भई उद्योगमा आगलागी भएको थियो । ड्राइभरहरूले तीनवटा बुलेट भने बाहिर ल्याएका थिए । एउटा बुलेटमा भएको १७ हजार टनभन्दा बढी ग्यासले सो क्षेत्रमा ठूलो आगलागी गरेको थियो । आगो निभाउन गएका वीरगन्ज नगरपालिकाका दमकलचालक मधुसुधन मिश्र र फायरम्यान यादव अधिकारीको जलेर मृत्यु भएको थियो । सो क्रममा दमकलसमेत जलेर नष्ट भएको थियो ।
अर्का दमकलचालक अरुण महतो र फायरम्यान सञ्जीव नेपालको उपचार भएको थियो, तर उनीहरूको शरीरको धेरै भाग जलेको थियो । त्यस्तै, उद्योगमा कार्यरत कर्मचारी अम्बिका पटेल स्थानीय अस्पतालमा उपचारपछि निको भएका थिए ।
ललितपुरमा ३ मूर्तिकारको मृत्यु
७ जेठ ०७३ मा ललितपुरको पाटनमा हस्तकलासम्बन्धी पसल सञ्चालन गरिरहेका तीन व्यक्तिको एचपी ग्यास सिलिन्डर विस्फोट भई मृत्यु भएको थियो । सो घटनामा परी स्थानीय ध्रुव ताम्राकार, सुरेश ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएको थियो भने कविता तामाङ घाइते भएकी थिइन् । तत्कालीन समयमा एचपी ग्यास खेतान समूहले सञ्चालन गर्दै आएको थियो । एचपी ग्यासले मृतकलाई क्षतिपूर्ति दिनुपर्ने आवाज उठेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन समिति नै गठन गरेको थियो, तर समितिले उपभोक्ताकै गल्तीले एचपी सिलिन्डर विस्फोट भएको बद्नियतपूर्ण रिपोर्ट दिएको थियो ।
आयल निगमले भने सो रिपोर्टको बेवास्ता गर्दै एचपीलाई ग्यास खरिद आदेश अनुमति (पिडिओ) रोक्का गरेको थियो । त्यसपछि सबै उद्योगी मिलेर एचपीको पिडिओ रोक्का खुला नभए कुनै पनि उद्योगले ग्यास आयात नगर्ने भनी हडतालको घोषणा गरेका थिए ।
अन्य केही उदाहरण
२१ मंसिर ०७६ मा कोसी ग्यास लिक हुँदा विराटनगर–२ का ७० वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको थियो । ग्यास लिक भई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । २०७३ असारमा सुगम ग्यासको नयाँ सिलिन्डर लगेर खाना पकाइरहेको एक सातामा कालीमाटीमा एक भारतीय नागरिकको मृत्यु भएको थियो । भारतीय नागरिक बिंगु पण्डितको सिलिन्डर विस्फोटमा परी मृत्यु भएको थियो । थप पाँचजना घाइते भएका थिए । ग्यास नबलेको गुनासोपछि स्थानीय डिलरले सिलिन्डरको भल्बमा लगेर लाइटर बाल्दा आगलागी भएको थियो ।
गत वैशाखमा डोल्पाको जगदुल्ला गाउँपालिका–६ मा रहेको एक घरमा ग्यास लिक भई आगलागी हुँदा पूरै घर खरानी भएको थियो । स्थानीय मनलाल ऐडीको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडासहित करिब ३० लाख रुपैयाँको क्षति भएको थियो ।