न्यायपरिषद् सदस्यमा ३३ कानुन व्यवसायी आकांक्षी

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

न्यायपरिषद्को रिक्त सदस्यमा नियुक्तिका लागि नेपाल बार एसोसिएसनमा ३३ जनाले नाम बुझाएका छन्, जसमा १७ जना वरिष्ठ अधिवक्ता छन् । बारबाट परिषद्मा प्रतिनिधित्व गर्ने रामप्रसाद सिटौलाको कार्यकाल १७ असोजमा सकिएपछि एक सदस्य रिक्त छ । बारले सिटौलाको ठाउँमा नियुक्तिका लागि पहिलोपटक बायोडाटासहित आवेदन मागिएको बार महासचिव लीलामणि पौडेलले बताए ।

संविधानअनुसार बारको सिफारिसमा २० वर्ष अनुभव भएको अधिवक्ता वा वरिष्ठ अधिवक्ता परिषद् सदस्य हुन सक्छन् । ‘३३ जना इच्छुकको विवरण प्राप्त भएको छ,’ पौडेलले भने, ‘कात्तिक २२ भित्र वरिष्ठता, आचरण, योग्यता सबै हिसाबले अब्बललाई छानेर नाम टुंगो लगाउँछौँ ।’ बारले ९ असोजमा परिषद् सदस्य हुन इच्छुकलाई विवरण पठाउन सूचित गरेको थियो ।

बायोडाटासहित विवरण मागेर छनोट गर्दा राजनीतिक आस्थाका आधारमा बारले परिषद् सदस्य सिफारिस गर्छ भन्ने भ्रम हट्ने महासचिव पौडेलको भनाइ छ ।
परिषद् सदस्यमा आकांक्षी वरिष्ठ अधिवक्तामा श्यामप्रसाद गौतम, उमेशचन्द्र झा, खेमनारायण ढुंगाना, अम्बरप्रसाद पन्त, दिवेन्द्र सिंह, नैनविनोद नेउपाने, कुमार इंगम, रामप्रसाद श्रेष्ठ, राजेन्द्रबहादुर साउद, भूषणकुमार मानन्धर र लक्ष्मीप्रसाद मैनालीलगायत छन् । यस्तै, १६ जना अधिवक्ता परिषद् सदस्यका आकांक्षी छन् ।

हाल बार एसोसिएसनका २५ पदाधिकारीमध्ये तीनजना मात्र लोकतान्त्रिक समूहका छन् । सोहीकारण परिषद् सदस्यमा प्रगतिशील समूहकै कानुन व्यवसायी छनोटमा पर्ने सम्भावना रहेको विश्लेषण केही अधिवक्ताको देखिन्छ । तर, बार महासचिव पौडेल भन्छन्, ‘हामी चुनावका वेला राजनीतिक दलनिकट देखिए पनि बारमा आएपछि एकढिक्का हुन्छौँ । यो राजनीति गर्ने ठाउँ होइन । विवरण बुझाएका भन्दा बाहिरैबाट सिफारिस गरिने सम्भावना पनि नभएको होइन ।’

करिब पाँच वर्षअघि परिषद् सदस्यमा दुईजना आकांक्षी देखिँदा बार पदाधिकारीबीच मतदान भएको थियो । वरिष्ठ अधिवक्ताद्वय बाबुराजा जोशी र रामप्रसाद श्रेष्ठमध्ये कसको नाम पठाउने भन्ने द्विविधाबीच भएको मतदानमा श्रेष्ठले जितेका थिए ।यसपालि पनि नाम सर्वसम्मति नभए मतदान हुने सम्भावना छ त ? महासचिव पौडेल भन्छन्, ‘हाम्रो प्राथमिकता सधैँ सर्वसम्मति नै हो । यदि मत बाझिए आन्तरिक प्रजातान्त्रिक प्रक्रियाबाटै जान्छौँ ।’

हाल न्यायपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र सरकारद्वारा सिफारिस कानुनविद् लक्ष्मीबहादुर निराला खड्का सदस्य छन् । खड्कालाई पुस ०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

सुझावित समाचार