अमेरिकाबाट निष्कासित भएपछि नेपालमा ठगी धन्दा

नक्कली कागजपत्रका आधारमा ५० करोडको जग्गा नामसारी

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

नक्कली कागजपत्रकै आधारमा एक युवकले करिब ५० करोड मूल्यबराबरको जग्गा अर्काको नाममा नामसारी गरिदिएका छन् । मालपोत कार्यालय पर्साको सहयोगमा ललितपुरका केवलप्रतापजंग राणाले कमला राजभण्डारीको नाममा रहेको जग्गा उनको छोरा बनेर नामसारी गराएका हुन् । राणालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

उनले आफू कमलादेवीको छोरा मुकेश राजभण्डारी भएको भदै त्यही नामबाट नक्कली नागरिकतालगायतका विविध कागजपत्र मालपोत कार्यालयमा पेस गरेर जग्गाको नामसारी गरेका हुन् । वीरगन्ज महानगरपालिका– ५ स्थित पाँच कट्ठा १५ धुर नौ कन्चा जग्गा, त्यसमा बनेको घर आफ्नो नाममा ल्याएका थिए । गत ११ फागुनमा मालपोत कार्यालयले चलखेलका आधारमा जग्गा उनको नाममा राजीनामा पास गरिदिएको हो । यसमा मालपोतका कर्मचारीमाथि समेत छानबिन गर्ने प्रहरी तयारी छ । 

राणाले सो जग्गा बिक्रीका लागि एकातर्फ बीस ५० लाख बैना लिइसकेका थिए भने अर्काेतर्फ बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएका थिए । मुख्य बजारमा रहेको सो घरजग्गा राजभण्डारी परिवारको पुख्र्याैली जग्गा हो । उनीहरू हाल त्यहाँ नबस्ने भएकाले राणाले नक्कली कागजपत्र बनाएर ठगी प्रयास गरेका हुन् । करिब दुई महिना लामो अनुसन्धानपछि राणालाई पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए । 

छिमेकीबाट खुल्यो रहस्य 
बैना गरेपछि राणाले गिरधारीलाल अग्रवाललाई जग्गा देखाउन लगेका थिए । जग्गा हेर्ने क्रममा छिमेकीले देखेपछि कमला राजभण्डारीका छोरा राजेश राजभण्डारीलाई फोन गरे । राजेश मर्केन्टाइन कम्युनिकेसनका सञ्चालक हुन् । उनले आश्चर्य मान्दै आफूहरूले जग्गा बेच्ने कुनै तयारी नगरेको बताए । शंका लागेर मालपोत कार्यालयमा गएर बुझ्दा मुकेश राजभण्डारीको नाममा घरजग्गा राजीनामा पास भइसकेको थियो । त्यसपछि उनले सिआइबीमा उजुरी दिएका दिए । 

पक्राउ परेपछि राणाले अपराध स्विकारेका छन् । यसमा आफूबाहेक अरू व्यक्तिहरूसमेत रहेको उनले बताएका छन् । पक्राउ परेका राणामाथि ठगी मुद्दामा कारबाही गर्न प्रहरीले पर्सा पठाएको छ । ललितपुरमा उनीविरुद्ध किर्ते मुद्दा चलाउने प्रहरी तयारी छ । 

१२ वटा नक्कली कागज 
राणाले सो जग्गा आफ्नो नाममा ल्याउन नागरिकतासहित १२ वटा नक्कली सरकारी कागजपत्र बनाएको सिआइबीले जनाएको छ । जग्गा नामसारीका लागि ललितपुर महानगरपालिका– ३ बाट जारी भएको सनाखतसहितको सिफारिसपत्र, नाता प्रमाणित प्रमाणपत्र, जग्गाधनी कमला राजभण्डारी र उनका श्रीमान् गोपाल राजभण्डारीको मृत्युको प्रमाणपत्र बनाएका थिए । कमलादेवीका तीन छोराको नाममा नक्कली नागरिकता, नेपाली दूतावास अस्ट्रेलियाको नामको मञ्जुरीनामाको पत्र, नक्कली प्रेस कार्ड बनाएका थिए । कमलादेवीका एक छोरा अस्ट्रेलियामा भएकाले दूतावासबाट प्रमाणित भएको मञ्जुरीनामाको पत्रसमेत पेस गरेका थिए । जसअनुसार जग्गाधानीको बारेमा विस्तृत सूचना संकलन गरेर उनले ठगी योजना बनाएको हुन सक्ने सिआइबीका एसपी बेलबहादुर पाण्डे बताउँछन् । 

सो जग्गा एनआइसी एसिया बैंकमा धितो राखेर २० करोड कर्जा लिने प्रक्रियासमेत राणाले अघि बढाइसकेका थिए । त्यसका लागि गंगा ट्रेडर्स नामक कम्पनी दर्ता गरिएको थियो । 

राणा यस्तो अपराधमा पक्राउ परेको पहिलोपटक होइन । ०७० सालमा उनलाई सिआइबीले नै पक्राउ गरेको छ । क्रेडिट कार्ड ठगी प्रकरणमा उनी त्यसवेला पक्राउ परेकोमा ललितपुरमा मुद्दा चलेको थियो । ०७३ सालमा बैंकिङ कसुर मुद्दामा काठमाडौं प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको थियो । त्यस्तै, गत वर्ष जेठमा दरबारमार्ग वृत्तले उनलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो । 

उनका परिवार अमेरिकामा छन् । उनी पनि अमेरिका गएकोमा एक अमेरिकी नागरिकलाई छुरा हानेको घटनामा जेल बसी नेपाल फर्किएका हुन् । उनको ग्रिनकार्ड १० वर्षलाई रद्द गरी नेपाल निष्कासन गरिएको अनुसन्धानमा खुलेको छ । नेपालमा आएपछि उनले शृंखलाबद्ध रूपमा ठगी गरेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार