चुलो बल्न छाडेपछि महामारीको पर्वाह नगरी बगरमा गिटी कुट्न ओर्लिए मजदुर

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कोरोना महामारीले ११ चैतबाट देशभर लकडाउन भयो । 

सुनकोसी र इन्द्रावती नदी बगरमा बालुवा झिक्ने र गिटी कुट्ने मजदुरलाई सुरुमा लागेको थियो– लकडाउन केही दिनलाई होला ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका नदीकिनारमा आश्रित सयौँ मजदुर धमाधम लकडाउन थपिँदै गएपछि भोकै मरिने चिन्तामा परेका थिए । 

असार, साउन र भदौ उसै पनि नदीमा बालुवा गिटीको काम गर्न पाइँदैन । जिल्ला समन्वय समितिले यी तीन महिनालाई निषेध नै गर्छ । 

नदीजन्य पदार्थको काम हुने समयमा लकडाउन भयो । चैतदेखि जेठ अन्त्यसम्म आउँदा बगरमा ज्यालादारी गर्ने माझी, दनुवार र सयौँ सुकुम्बासी खानै नपाउने अवस्थामा पुगे । 

एकातिर कोरोना महामारी अर्कोतिर लकडाउन कहीँकतै काम छैन । स्थानीय सरकारले दैनिक ज्याला गरी खाने र विपन्नलाई भन्दै लाखौँ रकम खर्चेर खाद्यान्न तथा अन्य सामग्री बाँडेको प्रचारप्रसार गरियो । तर, यी मजदुरले एक गेडो चामल पाएनन् । 

निषेधित समय सकियो । भोकले आक्रान्त मजदुर १ असोजदेखि नदीकिनारमा जम्मा भए । तर, प्रहरीले लाठी बर्सायाे । 

महामारी फैलेला भनेर मजदुरको काममा बन्देज लगाइयो । महामारीभन्दा पनि प्रहरीलाई कमिसन नमिलेकोले नदीजन्य पदार्थ उत्खनन असोज आधाउधीसम्म रोकियो । भोका मजदुर प्रहरीबाट लुकेरछलेर आक्कालझुक्कल काममा लागे । अब त दसैँ पनि नजिकिएको छ । 

रात दिन काममा नखटिए चुलो बाल्नुपर्ने दायित्वदेखि जहान छोराछोरीलाई दसैँ मनाउने बाध्यकारी अवस्था पार लगाउन मजदुरलाई हम्मेहम्मे पर्ने देखिन्छ । 

भोका बालबच्चा नदीकिनारमै राखेर बालुवा–गिटीको काम गरिरहेका मजदुरलाई कोरोनाको भन्दा पनि चुलोको चिन्ता छ । 

दुवै नदीकिनारमा बालुवा चालेर जीविकोपार्जन गर्ने सुकुम्बासी ३० वर्षदेखि यही काममा छन् । उनीहरूको जायजेथा भनेकै नदीकिनार हो । 

‘लामो लकडाउनले चुलो बल्न छाडेपछि रोगभन्दा भोकले सताएकोले बगर आएको हो,’ बाह्रबिसे जम्बुकी मैयाँ कार्कीले भनिन्, ‘के गर्नु हातगोडा चलुन्जेल काम गरेर खानु त पऱ्याे नि ?’ 

पुस्ताैँदेखिनदी किनार बस्दै आएका सुकुम्बासी आहुती माझी पनि बालबच्चा बोकेर बगर झरेकी छिन् । 

सुनकोसी र इन्द्रावती नदीमा यसरी बालुवा–गिटीको काम गरेर गुजारा चलाउनेको संख्या झन्डै पाँच हजार छ । 

तर, विपन्न र सुकुम्बासीको संख्याचाहिँ पाँच सयको हाराहारीमा छ । सुकुम्बासी मजदुर यतिवेला सिम्ले, चेहेरे, पाख्रिभोटे, चालिसे, सालबोटे, भीमटार, चाकाली, झयाँडी र भैँसे बगरमा ओर्लिएका छन् । 

‘रोगभन्दा भोक ठूलो भएकोले हामी बगरमा ओर्लिएका हौँ,’ लामो समयदेखि बालुवाको काम गर्दै आएका सिम्लेका स्थानीय सुन्दर माझीले भने, ‘कोरोनाको डर हामीलाई पनि लाग्छ । भौतिक दूरी मिलाएर काम गरिरहेका छौँ ।’

महामारीबाट जोगिनुपर्छ भन्ने उनीहरूलाई पनि थाहा छ । तर, पेट पाल्न काम त गर्नुपऱ्याे नि ? काम गरिरहेका सुकुम्बासी मजदुरलाई विनाकारण दुःख नदिन स्थानीय सरकारले भूमिका खेल्नुपर्ने खाँचो छ ।

सुझावित समाचार