ताप्लेजुङ/ जिल्लामा अलैँचीको मूल्य एक सातामै प्रतिमन (४० केजी) ८ हजार रुपैयाँले बढेको छ। गत हप्ता प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य आइतबार बढेर ८८ हजार पुगेको हो।
अलैँची व्यवसायी कमल बरालले आइतबार ताप्लेजुङमा प्रतिमन ८८ हजारमा कारोबार भएको बताए। मूल्य बढ्दै गएपछि किसानहरूमा अझै उत्साह थपिएको छ। मूल्यसँगै किसानलाई अलैँची घर भित्र्याउने चटारो बढी पनि बढेको छ। ताप्लेजुङ बेँसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म अलैँची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्।
यस वर्ष अलैँचीको सुरुवाती मूल्यसमेत विगतको तुलनामा राम्रो रहेको व्यवसायीहरू बताउँछन्। मूल्यमा आएको बृद्धिले किसानलाई राहत दिएको छ। अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको माग, आपूर्ति र गुणस्तरअनुसार घटबढ हुने भएकाले अहिलेको मूल्य स्थिर भने नरहने अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए।
फुङलिङ नगरपालिका–६ का किसान शिवप्रसाद पोख्रेलले अलैँची टिप्ने मुख्य समयमा नटिपे वर्षभरको मेहनतमा असर पर्ने भएकाले किसानले चार्डपर्वसमेत बगानमै बिताउने गरेको बताए। जिल्लाका अधिकांश किसानले आफ्नो बगानअनुसार एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्।
अलैँची खेतीले किसानसँगै स्थानीय मजदुरलाई समेत रोजगारी दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदुरले दैनिक ५ सय देखि ८ सय रुपैयाँसम्म ज्याला पाउने गरेका छन्।
ताप्लेजुङका नौ स्थानीय तहका ६१ वडामध्ये ६० वडामा अलैँचीको व्यावसायिक उत्पादन हुने गरेको छ। ताप्लेजुङ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चार हजार ५७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ। त्यसबाट करिब २ हजार २९१ मेट्रिक टन उत्पादन हुने गरेको छ।