चामलका लागि चार दिन हिँडेर सदरमुकाम

आइतबार, २४ असोज, २०७७
डिजिटल संस्करण
चामलका लागि चार दिन हिँडेर सदरमुकाम

चामल लिन सदरमुकाम सिमकोट हिँडेका हुुम्ला नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दा

बन्दोबस्तीका सामानसहित ११ जनाको टोली लिएर सदरमुकाम सिमकोट पुगेका जनप्रतिनिधि भन्छन्– तत्काल खाद्यान्न आपूर्ति नगरे भोकै मर्ने अवस्था आउँछ

कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा मर्कामा परेका छन् । उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । 

खाद्यान्न संकट भएपछि नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय बासिन्दासहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’ 

लिमी उपत्यकामा चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति हुने गरेको छ । तर, यसपटक कोरोनाका कारण सात महिनादेखि हुम्लासँगका हिल्सा र लाप्चा नाका बन्द छन् । जसले गर्दा तिब्बतीय व्यापारीसँग मगाएका सामान पनि नाकामै रोकिएको उनले बताए । ‘तिब्बतबाट केही आउन दिएको छैन । हाम्रो सामान पनि नाकामै रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘अहिलेसम्म त जेनतेन चलेको थियो, अब नसकिने भयो ।’

समुद्री सतहबाट चार हजार एक सय मिटरको उचाइमा रहेको लिमी उपत्यकामा तीन गाउँ तिल, जाङ र हल्जीमा एक सय ८० परिवार बस्छन् । तीनै गाउँमा जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । स्थानीयले फापर र आलु पनि उत्पादन गर्छन्, जसले बढीमा ६ महिना धान्ने गरेको छ । ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्छ, त्यसपछि तिब्बतबाट ल्याउने गरेका थियौँ,’ उनले भने ।

त्यसैले चार दिन हिँडेर चामलका लागि सदरमुकाम पुगेको स्थानीय टर्सीफुबु लामाले बताए । उनीहरू गाउँबाटै बन्दोबस्तीका सामान बोकेर आएका हुन् । ‘गाउँबाटै खानपिन र बाटोमा वास बस्दा ओड्ने–ओछ्याउने कपडा बोकेर आएका हौँ,’ उनले भने । उनीहरू पाँच हजार मिटरको उचाइमा रहेको न्यालु लेक पार गरेर सदरमुकाम पुगेका हुन् । लेकमा एक्लै आउँदा अप्ठ्यारो हुन सक्ने भएकाले समूहमा आएको उनको भनाइ छ । 

अब हिउँ पर्ने याम सुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीय छिरिङमुटुप तामाङले बताए । लिमी उपत्यकामा कात्तिक मध्यतिरबाट हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गरेको उनले बताए । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै आएको उनको भनाइ छ । 

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालासँग भेटघाट गरेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको वडाध्यक्ष तामाङले बताए । 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले स्थानीय बासिन्दा डेलिगेसन आएको र खाद्यान्न आपूर्तिका लागि पहल भइरहेको बताए । केही दिनमै लिमीमा खाद्यान्न आपूर्ति गरिने उनको भनाइ छ । ‘छिटै खाद्यान्न आइपुग्छ, लिमीवासी आत्तिनुपर्दैन,’ उनले भने । 

हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले खाद्यान्न आपूर्तिका लागि पहल गरिरहेको बताए । काठमाडौंमा रहेका उनले सम्बन्धित मन्त्रालय र निकाय धाइरहेको बताए । 

नाका खोल्न सरकारले पहल नगरेको वाणिज्य संघको गुनासो
अन्तर्राष्ट्रिय व्यापारिक नाका सात महिनादेखि बन्द हुँदा पनि सरकारले पहल नगरेको उद्योग वाणिज्य संघ, हुम्लाले जनाएको छ । जसले गर्दा व्यवसाय पनि संकटमा परेको वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए । ‘अरूका लागि नभए पनि चीनमा निर्भर सीमा क्षेत्रका जनताका लागि नाका खुलाउन सरकारले पहल गर्नुपर्ने हो,’ अध्यक्ष तामाङले भने, ‘सरकारले पहल नगर्दा जनता भोकै बस्नुपर्ने अवस्था आएको छ ।’

हुम्लामा कोरोना संक्रमण नफैलिएको र चीनको सीमा क्षेत्रमा पनि संक्रमण नभएको उनले बताए । जसले गर्दा हिल्सा नाका खोल्न पटकपटक आग्रह गरेको संघले जनाएको छ । स्थानीय प्रशासनमार्फत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा माग गर्दा पनि सरकारले चासो नदिएको उनको गुनासो छ । 

लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङ भन्छन्–जनता भोकै छन्, टुलुटुलु हेरेर बस्न सकिनँ

कोरोना भाइरसको महामारीका कारण तिब्बतसँगको दुवै नाका सात महिनादेखि बन्द छन् । उताबाट खाद्यान्न नआउँदा चार महिनादेखि लिमीमा खाद्यान्न संकट आएको छ । गत वर्ष तिब्बतबाट ल्याएको खाद्यान्नले अहिलेसम्म जेनतेन धानेका थियौँ, अब नसकिने भयो ।

अब रोगले भन्दा भोकले भर्ने भयौँ । जनता हरेक दिन खाद्यान्न छैन भन्दै मकहाँ आउने गरेका छन् । गाउँमा जनता भोकभोकै छन् । टुलुटुल हेरेर बस्न सकिनँ । त्यसैले चार दिन पैदल हिँडेर सदरमुकाम पुगेको हुँ । कात्तिकमा हिउँ पर्छ, बाटो बन्द हुन्छ ।

त्यसपछि नेपालबाट खाद्यान्न ढुवानी गर्न सकिँदैन । लिमीका जनता भोकले मर्नुबाहेक अर्को विकल्प रहन्न । त्यसैले, अहिले नै जतिसक्दो चाँडो खाद्यान्न ढुवानी गरिदिन प्रदेश र संघीय सरकारसँग आग्रह गर्दछु । 

सुझावित समाचार