एक करोड १५ लाख ठगी गर्ने १२ जनाको गिरोह सार्वजनिक

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

सस्तोमा डलर साट्ने प्रलोभनमा उपत्यकामा ठगी गर्दै आएको गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार गिरोहलाई सार्वजनिक गरेको हो ।

उनीहरूले एक करोड १५ लाख १० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।   महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका खेलबहादुर तामाङ,  रेलबहादुर तामाङ, यामबहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङ, विमल भण्डारी, निर्मल भण्डारी, राजकुमार तामाङ, धनबहादुर भण्डारी, कमल भण्डारी, राकेश भण्डारी, सन्चबहादुर योञ्जन छन् । उनीहरूले दर्जनौँ व्यक्तिलाई ठगेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् । 

सस्तोमा डलर साट्ने भन्दै एकान्तमा बोलाउने र डलरजस्तै आकारमा कागजको बन्डल बनाएर दिई झुक्याएर ठगी गर्दथे । बन्डलमा तलमाथि सक्कली डलर नै राख्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूको चारवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । सो समूहबाट ठगिएका व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको एसपी थापाले बताइन् । यस्तो ठगीबाट उनीहरूले लाखौँ कमाएको देखिएकाले त्यसको पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

सस्तो दररेटमा डलर साट्ने प्रलोभनमा ठग्ने गिरोह उपत्यकामा सक्रिय रहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

सुझावित समाचार