नेपाल-भारत सीमा क्षेत्रकाे जिल्लास्तरीय बैठक सम्पन्न

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

भारतको बिहार राज्यको निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षा प्रमुखहरूको बैठक आज बाराको कलैयामा सम्पन्न भएको छ । 

बैठकमा नेपालका बारा, पर्सा, रौतहट, चितवन र पूर्वी तथा पश्चिम नवलपरासी जिल्लाका सुरक्षा प्रमुख तथा बिहारका पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

भारतका तर्फबाट पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट शिसंत कपिल अशोकले नेतृत्व गरेका थिए । नेपालका तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नेतृत्व गरेका थिए । 

बैठकमा भारतको बिहार राज्यको नोभेम्बरमा हुन गइरहेको तेस्राे चरणको राज्य सभाको निर्वाचनलाई स्वच्छ एवं मर्यादित बनाउन तीन दिन सीमा क्षेत्र सिल गर्ने निर्णय भएको छ ।

यसैगरी सीमा क्षेत्रमा हुने अपराध, अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसारमा पूर्ण रूपमा नियन्त्रण गर्नेलगायतका विषयमा सहमति भएको बैठकपश्चात् आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । 

बैठकमा चोरी–निकासी एवं तस्करी नियन्त्रण तथन कोभिड– १९ नियन्त्रणका लागि सामूहिक रूपमा अघि बढ्ने सहमति भएकोसमेत जनाइएको छ । बैठकमा भारतका तर्फबाट २३ जना र नेपालका तर्फबाट २६ जना गरी ४९ जनाले सहभागिता जनाएका थिए । 

बैठकमा सुरक्षा निकायका अलावा भारतीय निर्वाचन आयोगका प्रतिनिधि र नेपालका चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । 

वर्षमा दुईपटक नियमित हुने बैठक यसपटक नेपालले बाराको कलैयामा आयोजना गरेको हो । करिब ३ घन्टा चलेको बैठकमा नेपालका तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैठकका एजेन्डाहरू प्रस्तुत गरेका थिए । 

सुझावित समाचार